सुदूर नेपाललाई विश्वसँग जोड्दै

मापदण्डविपरीत सञ्चालन गरिएका औषधि पसलमा शिलबन्दी

। फोटो स्रोत ।
२०७६ असार ५, ०३:४०

जनकपुरमा मापदण्डविपरीत सञ्चालन गरिएका ४ औषधि पसलमा शिलबन्दी गरिएको छ। बुधबार औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जले अनुगमन गर्दा जनकपुर अञ्चल अस्पताल रोडमा सञ्चालन भइरहेका अधिकांश औषधि पसलहरु मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको थियो।
समितिले अनुगमन गरी मापदण्डविपरीत सञ्चालनमा रहेका ४ औषधि पसलमा शिलबन्दी समेत गरेका हुन्। समितिले अनुगमन गर्न आएको थाहा पाई अधिकांश पसलका सञ्चालकहरु पसल बन्द गरी भागेका थिए।

अनुगमनको क्रममा प्रदेश २ को राजधानी जनकपुरका अधिकांश औषधि पसलहरु मापदण्डविपरीत अवैधरुपमा सञ्चालनमा रहेको पाइएको अनुगमन समितिका नेतृत्वकर्ता डा चन्देश्वर यादवले जानकारी दिए। उनले समितिले बुधबार ११ वटा औषधि पसलमा अनुगमन गरिएको प्रायःजसो पसलमा केही न केही कमीकमजोरी रहेको बताए।

अनुगमनका क्रममा कतिपय औषधि पसलहरुमा म्याद सकिएका औषधिसमेत बिक्रि गरेको, औषधिमा ब्याच नम्बर र एक्सपायर मिति नखुलाई बिक्री गरेको, नियमित सेवाग्रहीलाई बिल नदिएको र फार्मसिस्ट बिना पसल सञ्चालन गरेको भेटिएको उनले बताए। अन्य ७ पसलमा देखिएको कमिकमजोरी २ दिनभित्र सुधार गरी सञ्चालकलाई कागजात लिएर कार्यालयमा उपस्थित हुन अनुगमन टोलीले निर्देशन दिएको छ।

अनुगमनका क्रममा अधिकांश पसलमा आधिकारिक व्यक्ति नभई अन्य व्यक्तिले औषधि बिक्री गरेको फेला परेको थियो। पसल तथा व्यवसायिक प्रतिष्ठान घरेलु तथा साना विभागअन्तर्गत नै रहेको वाणिज्य शाखामा दर्ता गराउनुपर्ने व्यवस्था पनि जनकपुरका औषधि पसलहरुले पालना नगरेको बताइएको छ।

पोलीक्लिनिक, प्याथोलोजी ल्याब, औषधि पसल र निजी क्लिनिक समेतले मापदण्डविपरीत सञ्चालन गरी अधिकांशले राजश्व छलि गरिरहेको गुनासोका आधारमा अनुगमन गरिएको हो। लामो समयदेखि जनकपुरमा अनुगमन नहुँदा यस क्षेत्रका क्लिनिक सञ्चालकहरुले मनपरीतन्त्र मौलाएको स्थानीयहरुले  आरोप लगाएका छन्। जनकपुरमा प्रत्येक वर्ष अनुगमन हुन्छ, तर कुनै पनि व्यवसायीहरुलाई उचित कारबाही नहुँदा व्यवसायीहरु उदण्ड बनेको स्थानीयहरुले बताए।
 

कमेन्ट लोड गर्नुस