साहित्यकार लीलबहादुर क्षेत्रीको निधन
काठमाडौँः साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको छ।
भारतको आसामका स्थायी बासिन्दा उनको गए राति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले बताए। ‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध सङ्ग्रह उपन्यासका साथै कथा, निबन्ध र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गरेका उनी जगदम्बाश्री पुरस्कारबाट सम्मानित थिए।
भानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उनलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो।