सुदूर नेपाललाई विश्वसँग जोड्दै

साताभर निरन्तर वर्षा हुने

२०८२ असार १६, १०:१७ खबर संवाददाता

काठमाडौँ : यो वर्षको मनसुनले आइतवारदेखि वर्षाको गति बढाएको छ। आउँदो सातासम्म देशव्यापी निरन्तर वर्षा हुने भएको छ।

साताको पहिलो तीन दिन आइतवार, सोमवार र मङ्गलवारसम्म गण्डकीदेखि पारिका चार वटा प्रदेशमा अधिक वर्षाको खतरा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 
त्यसपछिका बाँकी दिनमा बागमतीदेखि पूर्वका तीन वटा प्रदेशका विभिन्न भूभागमा अधिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताए। उनले भने, “मौसम विश्लेषणले अबका दिनमा सम्भावित भीषण र अति भीषण वर्षा दोहोरिने दिनहरू बढी देखाइरहेको छ, त्यसैले  सावधानी र सतर्कता दुवै अपनाउनुपर्ने देखिन्छ।”

महाशाखाका अनुसार मनसुन नेपालमा बलियो बन्दै फैलँदै गएको छ। मनसुनको न्यूनचापीय रेखा नेपालमा पूर्वमा सरदर स्थानमा र पश्चिममा दक्षिणतर्फ तेर्सिंदै उत्तरतर्फ पश्चिम नेपालको नजिक आइपुगेको छ। त्यसैले पनि नेपालको पश्चिमी भूभागमा शनिबार रातिदेखि साताको पहिलो तीन दिनमा अधिक वर्षा गराउँदै छ। बुधबारदेखि न्यूनचापीय रेखा पूर्वी नेपालको नजिक सर्ने भएकाले पूर्वदेखि मध्य नेपालमा अधिक वर्षा गराउने सम्भावना रहेको मानन्धरले बताए। जसले बागमती, कोशी र मधेश प्रदेशका विभिन्न स्थानमा भीषण वर्षा गराउने छ।  
महाशाखाका अनुसार शनिवार राति नै कतिपय स्थानमा भीषण वर्षा रेकर्ड भएको छ । विगत २४ घण्टामा सबैभन्दा बढी कर्णाली प्रदेशको सल्यानस्थित स्याउलीवाङमा १६३ मिलिमिटर वर्षा रेकर्ड भएको छ। त्यसपछि कञ्चनपुरको हनुमानगढीमा १२४ मिलिमिटर, दाङको गढवामा १२३ मिलिमिटर, कैलालीमा १२१ मिलिमिटर वर्षा रेकर्ड भएको छ। मध्य नेपालमा पनि भीषण वर्षाको क्रम सुरु भएको छ। महाशाखाका अनुसार सिन्धुपाल्चोकको गोब्रे भन्ने स्थानमा १०६ मिलिमिटर र मानेखर्कमा ९१ मिलिमिटर वर्षा भएको छ। 

यो क्रम बुधवारपछि यस भेगमा थप बढोत्तरी हुने सम्भावना रहेकाले पूर्वसूचनाप्रति सतर्क रहँदै आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ । विभागको सूचनालाई मध्यनजर गर्दै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिनका लागि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका १२ जिल्लाले अधिक सावधानी अपनाउन अपिल गरेका छन्। लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ, कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सल्यान, सुदूरपश्चिमको बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुरमा अति भीषण वर्षाको सम्भावना रहेकाले पूर्वसूचनाको पालना गर्दै सावधान रहन भनिएको छ।

प्राधिकरणका प्रवक्ता सुरेश सुनारका अनुसार अन्य पहाडी भूभागमा पनि भीषण वर्षाको सम्भावना उच्च रहेकाले सतर्क रहनु पर्छ। प्राधिकरणले अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, मौसमी सूचनाको जानकारी राख्दै डुबान हुन सक्ने घरका नागरिकले सतर्कता अपनाउन सुझाएको छ। नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउँदै किनारामा कुनै काम नगर्न र उच्च जोखिम रहेका जिल्लाका विपत् व्यवस्थापन समिति एवं सुरक्षा समितिले आवश्यक निर्णय गर्न र पालना गराउन पनि प्राधिकरणले निर्देशन दिएको छ।
 

कमेन्ट लोड गर्नुस