राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते तोकियो
काठमाडौंः प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समिति सभापतिको निर्वाचन यही भदौ ११ गतेलाई तोकिएको छ।
सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका तोकेका हुन्। निर्वाचनको मिति तय गर्नुअघि सभामुख घिमिरेले आइतबार दिनभर राजनीतिक दलसँग छलफल गरेका थिए।
राज्य व्यवस्था समितिको सभापति पद गत साउन २८ गतेदेखि रिक्त छ। रिक्त पदमा १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ।
निजामती सेवा विधेयकको कुलिङ पिरियडको गडबडीमा यसअघिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए।
राज्य व्यवस्था समिति नेतृत्वबीहिन हुँदा समितिमा रहेका विधेयक भने अड्किएका छन्।समिति सचिवालयका अनुसार चार वटा विधेयक दफावार छलफलमा छ।
नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी बल विधेयक, निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक समितिमा रहेको छ। यसका अलावा ७२ भन्दा धेरै उजुरी समितिमा रहेका छन्।
राज्य व्यवस्था समितिको बैठक बस्न नसकेको भने दुई महिना हुन लागिसकेको छ।