सुदूर नेपाललाई विश्वसँग जोड्दै

अवैधानिक रुपमा मलेसियामा बसेकालाई घर फर्कने अवसर

। फोटो स्रोत ।
२०७६ साउन १६, १२:३२

विभिन्न कारणले मलेसियामा अवैधानिक भएर बसेका नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया सरकारले बिहीबारदेखि घर फर्किने अवसर दिएको छ। बिहीबार अर्थात आज अगस्ट १ देखि आउँदो डिसेम्बर  ३१ तारिखसम्मको लागि अवैधानिक विदेशी नागरिकलाई आममाफीको समय दिइएको हो। मलेसिया सरकारले ल्याएको ‘ब्याक फर गूड’ कार्यक्रममार्फत अवैधानिक रुपमा बसेका सबै विदेशी नागरिक यसमा समावेश भएर स्वदेश फर्किन पाउनेछन्। भिसा र पासपोर्टको म्याद सकिएर अवैधानिक रुपमा मलेसियामा बसिरहेका सबैले यो समयभित्र आ–आफ्नो देश फर्किसक्नुपर्नेछ। यो कार्यक्रम अवैधानिक रुपमा मलेसियामा बसेका नेपाली कामदारको लागि निकै ठूलो अवसर भएको मलेसियास्थित नेपाली दूतावासका द्वितीय सचिव महेश त्रिपाठीले बताए।

‘नेपाली कामदारको मागअनुसार हामी लगायत अरु देशका दूतावसहरुको पहलमा मलेसियन सरकारसँग सल्लाह गरेर यो कार्यक्रम ल्याएको बताउंदै ‘यसले अवैधानिक रुपमा बसेर रहेका कामदारलाई ठूलो राहत मिल्ने जानकारी दिए। इमिग्रेसनका ओभरस्टेबाहेकका अरु समस्यालाई यसले सम्बोधन नगर्ने पनि उनले बताए। कामदारले स्वदेश फर्किनको लागि मलेसियन सरकारलाई जरिवानास्वरुप ७ सय रिंगिट र राहदानी नभएकाहरुले एकतर्फी यात्रा अनुमति पत्रको लागि १६० रिंगिट तिर्नुपर्ने हुन्छ। 

एकतर्फी यात्रा अनुमति पत्र बनाएर  मलेसिया सरकारले तोकेको अध्यागमन कार्यालय जानुपर्छ। त्यहाँ गएर आवेदन दिन नेपाल फिर्ता हुने हवाई टिकटको प्रतिलिपि अनिवार्य लैजानुपर्ने हुन्छ। नेपाल फिर्ता हुने हवाई टिकटमा नेपाल जाने मिति अध्यागमन कार्यालय गएको ७ दिनभित्रको हुनुपर्नेछ। अध्यागमनमा जाँदा व्यक्ति स्वयं नै उपस्थित हुनुपर्छ। व्यक्ति स्वयं उपस्थित हुन नसक्ने अवस्थामा दूतावासको मान्छे आउनुपर्ने हुन्छ। तर तेस्रो पक्षलाई नल्याउन दूतावासको आग्रह छ। 

यस्तै आवेदन भरिदिने तथा सस्तोमा नेपाल फर्काइदिन्छु भन्दै ठूलो रकम असुल्नेहरुको बिगबिगी हुने भएकोले त्यसबाट जोगिन दूतावासले सचेत गराएको छ। भिसाको म्याद सकिएर अवैधानिक भएकाहरुलाई बाटोमा भेटाए प्रहरीले समातेको खण्डमा मलेसियाले ल्याएको यो कार्यक्रम र आफू त्यसैको लागि जान लागेको कुरा खुलेर भन्न दूतावासले आग्रह गरेको छ। आफूले सम्झाउँदा सम्झाउदै पनि यदि प्रहरीले समात्यो भने दूतावासको हटलाइन ०१६२४७२७७७र०३२०२०१८९८२०२०१८९९र०३२०२०१९०१सम्पर्क गर्न सकिन्छ। 
 

कमेन्ट लोड गर्नुस