जाडो छल्न हिमालपारिबाट आउन थाले चरा
चितवन, ३० असोजः जाडो छल्न हिमालपारिबाट चरा आउन थालेका छन्। चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका सिमसार क्षेत्रमा हाँस प्रजातिका चरा आउन थालेका हुन्।
हरेक वर्ष अक्टोबरमा आउने ती चरा गर्मी सुरु भएसँगै फर्कने गर्दछन् । नेपाल पन्छीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष बासु बिडारीकाअनुसार नेपालमा जाडो छल्न चरा आउन थालेका हुन् । साइबेरिया, मङ्गोलिया, तिब्बत, रसिया, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान, चीनलगायतका देशबाट चरा आउन थालेका छन्। जाडो छल्न आउने ती चरा कालीगण्डकीको खोँच हुँदै चितवनसम्म आइपुगेका छन्।
जाडो छल्न हाँस प्रजातिका क¥याङकुरुङ, चखेवा, सुइरोपुच्छ्रे, मालक, खडखडे, बिजुला, गैरीसहित बाज, चिललगायत चरा यहाँ आउन थालेका हुन्। वनमा आश्रित प्रजातिमा चाचर, चुइया, भारद्वाजसमेत आउने गरेको उहाँले बताउनुभयो । यहाँका नदी किनार र तालतलैयामा यस्ता चरा देखिन थालेका छन्। उहाँका अनुसार नेपाल बाहिरदेखि आएका १२ देखि १५ हाँस प्रजातिका चरा यहाँको नारायणी, राप्ती नदी र रिउखोलामा आउने गर्दछन्। जाडो बढ्दै गएपछि नेपालकै हिमाली भेगका चरा मध्यपहाड र मध्यपहाडका चरा तराईमा आउने गर्दछन्।
नेपालमा १५० प्रजातिका चरा आगन्तुकरूपमा आउने गर्दछन्। यी चरा छ महिनापछि बच्चा कोरल्ने समयमा फेरि दक्षिणबाट उत्तर फर्कने सङ्घका बागमती प्रदेश अध्यक्ष बिडारीले जानकारी दिनुभयो। पृथ्वीको उत्तरी ध्रुवमा दिन छोटो र रात लामो हुने हुँदा चर्नका लागि समयसमेत नहुने हुँदा ती चरा आउने गरेको विज्ञहरू बताउँछन्।
नेपालमा विशेषगरी सिमसार, घाँसेमैदान, वन र खेतबारीमा बस्ने चरा आउने गर्दछन्। ‘बर्ड एजुकेसन सोसाइटी’ चितवनका अध्यक्ष विजय गिरीका अनुसार दसैँमा परेको वर्षात्सँगै नदी तटीय क्षेत्रमा आगन्तुक चरा देखिन थालेको छ। चितवन राष्ट्रिय निकुञ्ज चराका लागि उत्तम बासस्थानका रूपमा लिइन्छ। निकुञ्ज हुँदै बग्ने राप्ती, रिउसँगै नारायणी नदी र निकुञ्जभित्रका तालतलैया र वन क्षेत्रमा आगन्तुक चरा रमाउने गर्छन् । निकुञ्ज, मध्यवर्ती र सामुदायिक वन पनि पन्छीको राम्रो विचरण क्षेत्र हुन् । नेपालमा ९०२ प्रजातिका चरा पाइन्छन् भने चितवनमा मात्र ६५२ प्रजातिका चरा पाइन्छन्।