सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन
काठमाडौँः सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ।
सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गरेका थिए। उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा आठ हजार मिटरमाथिसम्म पुग्नुभएको थियो। उहाँले दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा काम गर्नुभयो। शेर्पा हालसम्म सो आरोहण दलको एकमात्र जीवित सदस्यका रूपमा थिए।
उहाँको आज काठमाडौँ कपनस्थित निवासमा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ।