छठमा हिन्दू राष्ट्र माग्दै कांग्रेस नेताले गरे २८औं दण्ड प्रणाम यात्रा
विराटनगर: नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद भीम पराजुलीले छठ पूजाका लागि सडकमा दण्ड प्रणाम यात्रा गरेका छन् । उनले दण्ड प्रणाम यात्रा गरेको यो २८औं पटक हो।
पछिल्लो २० वर्षयता उनले हिन्दू राष्ट्रको कामना गर्दै छठको पूजाका लागि दण्ड प्रणाम यात्रा गरिरहेका छन्।
नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा, लोक कल्याण, विश्व शान्ति र धर्म रक्षाका लागि छठको व्रत बसेर दण्ड प्रणाम यात्रा गरेको पराजुलीले बताए। पराजुली विराटनगर महानगरपालिकाको पूर्वमेयर पनि हुन्।
३२ वर्षयता छठको व्रत बस्दै आएका छन्। उनले २८ औं पटक दण्ड प्रणाम यात्रा गरेको बताए।
विराटनगर महानगरपालिका–३ ठूलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै उनले सुरु गरेको दण्ड प्रणाम यात्रा सिंघिया खोलामा राखिएको पूजा स्थलसम्ममा पुगेर समापन हुनेछ।
मन्दिरबाट तीन किलोमिटर टाढा रहेको सिंघीया खोलामा निर्मित छठघाटमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिनेछन्।