जाँचबुझ आयोगले माग्यो एनजीओ-आइएनजिओलाई आएको वैदेशिक सहायताको विवरण
काठमाडौँ: जेन्जी आन्दोलनमा भएको दमन र भोलिपल्टको आगजनीबारे जाँचबुझ गर्न गठित आयोगले पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ/आइएनजीओ) हरूलाई आएको वैदेशिक सहायताको विवरण पेश गर्न समाज कल्याण परिषद्लाई पत्र काटेको छ।
जेन्जी आन्दोलनमा सक्रिय देखिएका केही व्यक्ति र ती आबद्ध संघसंस्थामाथि कतिपयले प्रश्न उठाएका छन्। त्यही पृष्ठभूमिमा आयोगले समाजकल्याण परिषद्बाट सहयोगमा आएको रकम र उनीहरूले गरेको खर्चको विवरण मागेको हो।
कुनै निश्चित संस्था वा ठाँउ नभएर समग्र देशभरका संघसंस्थाहरूमा आएको सहायताको विवरण मागिएको हो।
जेन्जी आन्दोलनमा सक्रिय भएका कतिपय संस्थाहरूमाथिको अनुदानबारे कतिपयले सार्वजनिक वृत्तमा प्रश्न उठाएका थिए।
दातृ निकाय तथा नेपालमै रहेका कतिपय कम्पनीहरूले गरेको सहयोगमाथि प्रश्न उठेको बेलामा आयोगले गैरसरकारी संस्थाहरूको आम्दानी र उनीहरूको कार्यक्रम सहित खर्चको विवरण मागेको हो