सुदूर नेपाललाई विश्वसँग जोड्दै

मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानः देशभर वर्षा 

२०८२ कार्तिक ११, ०८:२१ खबर संवाददाता

धनगढीः हाल पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहँदा आज देशभर साधारणतया बदली रहने छ। 
आज दिउँसो गण्डकी, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज यहाँ जारी मौसम बुलेटिनमा उल्लेख छ।  

साथै बाँकी तराईका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात/वर्षाको पनि सम्भावना छ। त्यसैगरी आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ।

गण्डकी प्रदेशका केही स्थान तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थान तथा कोशी प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भारी हिमपात र वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

कमेन्ट लोड गर्नुस