सुदूर नेपाललाई विश्वसँग जोड्दै

भैलो खेलेर क्यान्सर पीडितलाई सहयोग

२०८२ कार्तिक १२, १२:४२ खबर संवाददाता

गुलरिया (बर्दिया): बर्दियाको बढैयाताल गाउँपालिकाका युवाहरूले देउसी भैलो कार्यक्रममार्फत संकलित रकम क्यान्सर पीडित महिलालाई सहयोग गरेका छन्। वडा नं. ८ पशुपति बजारका युवाहरूले सोही वडाकी ४५ वर्षीया रेखा नेपालीलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्।

भैलो कार्यक्रमबाट उठेको रकमबाट समूहले रेखा नेपालीलाई नगद रु. १० हजार सहयोग गरेको छ। पित्तथैलीको क्यान्सरबाट पीडित नेपालीलाई वडा सदस्य ममता घर्तीको उपस्थितिमा घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरिएको हो।

देउसी भैलो समूहका संयोजक खड्कबहादुर सुनारका अनुसार यसपालि सांस्कृतिक कार्यक्रममा संकलित रकम सामाजिक उद्देश्यका लागि खर्च गरिएको हो। “यो सहयोगले पीडित परिवारलाई केही राहत मिलोस् भन्ने उद्देश्य हो,” संयोजक सुनारले बताए।

सहयोग पाउँदा रेखा नेपालीका श्रीमान् लालबहादुर नेपालीले समूहप्रति आभार व्यक्त गर्दै “रकमभन्दा पनि सहयोगीहरूको सद्भाव ठूलो हो,” भने।

सुनारका अनुसार अघिल्ला वर्षहरूमा भैलोबाट उठेको रकम वनभोज र भ्रमणमा प्रयोग गरिँदै आएको भए पनि यस वर्ष समूहले सो रकम क्यान्सरपीडित भूमिहिन सुकुम्वासी महिलाको उपचार सहयोगमा लगाएको हो।
 

कमेन्ट लोड गर्नुस