भेरी अस्पताल नेपालगञ्जमा मिर्गौलाका बिरामीको चाप बढ्दो
भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि जाने मिर्गौलाका बिरामीको चाप निक्कै बढ्दो रहेको छ। भेरी अस्पतालमा अहिले दैनिक तीन चरणमा नौ जना मिर्गौलाका बिरामीको डायलासिस सेवा हुने गरेको अस्पतालका हेमोडायलासिस युनिट प्रमुख डा.पारस श्रेष्ठले जानकारी दिए। उनका अनुसार, भेरी अस्पतालमा २३ जना मिर्गौलाका बिरामी डायलासिस सेवाका लागि आउने गरेका छन्। अस्पतालमा रहेका तीन वटा डायलासिस मेसिनमार्फत एक चरणमा तीन जनाको मात्रै डायलासिस हुने भएकाले अन्य बिरामी पालो कुर्न बाध्य छन्।
उनले भने, ‘अहिलेसम्म हामी कहाँ पालो पर्खेर बसेको बिरामीको सङ्ख्या २३ रहेको छ। बिरामीका आफन्त हरेक दिनजसो आउंछन् पालो आएको छैन भनेर पठाउन बाध्य छौँ।’ बिरामीको चापअनुसारको डायलासिस मेसिन र दक्ष जनशक्तिको अभाव हुँदा बिरामी मर्कामा परेका छन्। चार वटा मेसिन रहेकामा एउटा मेसिन बिग्रिपछि तीन वटा मेसिनले मात्र सेवा दिने गरिएको डा श्रेष्ठले बताए।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.रुपानन्द अधिकारीले बिग्रिएको डायलोसिस मेसिन मर्मतको प्रयास भइरहेको बताए। उनले बिग्रिएको मेसिन एकरदुई दिन भित्रैमा मर्मत भई सञ्चालन हुने उल्लेख गर्दै मिर्गौलाका बिरामीलाई अस्पतालले सहजरुपमा डायलासिस सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए।