सुदूर नेपाललाई विश्वसँग जोड्दै

राना थारु ‘होमस्टे’मा आकर्षण  वार्षिक तीन हजार पाहुनाको बास

२०८२ कार्तिक २६, ०२:०१ रासस

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा स्थापना भएको राना थारु समुदायद्वारा सञ्चालित सामुदायिक होमस्टे अहिले आकर्षक आयआर्जनको स्रोत बन्दै गएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको यस होमस्टेमा हिउँद र फागुनदेखि जेठसम्मका महिनामा आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन बढ्ने गरेको छ।
राना थारु सामुदायिक होमस्टेका अध्यक्ष परशुराम रानाका अनुसार गत वर्ष मात्रै करिब तीन हजार पर्यटकले यहाँ बास बसेका थिए। निकुञ्जमा बाह्रसिङ्गे, चित्तल, बदेल, मयूर लगायतका वन्यजन्तु अवलोकन गर्न आउने पर्यटकहरु होमस्टेमै बस्न रुचाउँछन्।

हाल आठ वटा घरमा सञ्चालनमा रहेको होमस्टेबाट प्रत्येक घरले वार्षिक डेढदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको छ। यहाँका पाहुनाले स्थानीय परिकार, राना थारु पहिरन र सांस्कृतिक नृत्यको समेत आनंद लिन पाउँछन्।

भीमदत्त नगरपालिकाको नयाँ कटानसँगै कृष्णपुरको वाणी र शुक्लाफाँटा नगरपालिकाको जोनापुरमा पनि यस्तै होमस्टे सञ्चालनमा छन्। कञ्चनपुर उद्योग वाणिज्य सङ्घका सचिव राहुल भट्टका अनुसार जिल्लाका होमस्टेहरु पर्यटकमैत्री र उपयोगी छन्।

उनले निजी क्षेत्र, दातृ निकाय र स्थानीय समुदायको सहकार्यले यी होमस्टेहरूलाई थप सुदृढ बनाउन सकिने बताउनुभयो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमणसँगै स्थानीय उत्पादन र संस्कृति अनुभव गर्न चाहनेका लागि राना थारु होमस्टे अब प्रमुख आकर्षण बनेको छ।

कमेन्ट लोड गर्नुस