कैलालीमा जलवायु परिवर्तन, कृषीमा युवा र सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
धनगढी: कैलालीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागितामा सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) र एफएओको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो।
कार्यक्रममा सुदूरपश्चिमका विभिन्न सञ्चारमाध्यमका पत्रकार, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, अकोराब र एफएओका प्रतिनिधि, युवा तथा कृषकहरुको सहभागिता रहेको थियो। कार्यक्रममा भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सुदूरपश्चिम प्रदेशका सूचना अधिकृत राजकुमार झा, कृषी निर्देशनालयका निमित्त कार्यालय प्रमुख टिकेन्द्र कुश्मी र कृषी ज्ञान केन्द्र कैलालीका कृषी प्रसारक अधिकृत टेक विष्टले कृषि क्षेत्रका सम्भावना र युवाको सहभागिता बढाउन भएका प्रयासमा प्रस्तुतीकरण दिएका थिए।
सहभागीहरुले लक्षित कृषकलाई अनुदान प्रदान गर्नुपर्ने, युवा लक्षित कार्यक्रमहरु लागु गर्नुपर्ने, कृषिलाई सम्मानित पेशामा परिणत गर्नुपर्ने, अनुदान र विमा योजनालाई सहज पहुँचयोग्य बनाउनुपर्ने लगायतका सुझाव राखेका थिए।
कृषी ज्ञान केन्द्रका वरिष्ठ कृषी प्रसारक अधिकृत टेक विष्टले कृषिमा युवाहरुको सहभागिताले राम्रो प्रतिफल ल्याएको बताए। राज्यको यान्त्रिकरण र अनुदानले युवा कृषकलाई आकर्षित गर्दै किवी, ड्र्यागन, केरा खेती, मासु उत्पादन र तरकारी खेतीमा उल्लेखनीय प्रगति भएको उनले बताए।
कैलालीकी पुष्पखेती किसान शुसिला विष्टले युवाहरुको सहभागिताले पुष्प खेतीमा आम्दानी बढेको र सरकारले विशेष अनुदान र विमा योजना ल्याउनुपर्ने बताइन्। कृषी निर्देशनालयका निमित्त कार्यालय प्रमुख टिकेन्द्र कुश्मीले युवा कृषकलाई आकर्षित गर्न विभिन्न कार्यक्रम लागु भएको र कृषीमा शिक्षा प्राप्त युवालाई करारमा अवसर दिएको जानकारी दिए।
भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकृत राजकुमार झाले युवा कृषकलाई व्यवसायिक रुपमा कृषिमा लगानी गर्न स्टार्टअप र कर्जा अनुदान योजना ल्याइएको बताए। पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहले सञ्चार माध्यममार्फत युवा कृषकका सफलताका कथा सम्प्रेषण गर्नुपर्ने औंल्याए।
एफएओ नेपालका प्रतिनिधि संघर्ष भट्टराईले ७७ वटै जिल्लामा कार्यक्रम संचालनमा रहेको र सञ्चार माध्यमले युवा किसानको मेहनत देखाउन महत्वपूर्ण भुमिका खेल्ने बताए। अकोराबका वरिष्ठ उपाध्यक्ष गोविन्दप्रशाद देवकोटाले सामुदायिक रेडियोमार्फत कृषिका आवाज बुलंद पार्न सबैलाई आग्रह गरे।