एक्सिस विद्याश्रमले जित्यो "आरम्भ ल फेष्ट" को उपाधी
धनगढीः धनगढीमा ‘आरम्भ ल फेष्ट’ को तेस्रो संस्करण सम्पन्न भएको छ। तेस्रो संस्करणको प्रतिस्पर्धामा एक्सिस विद्याश्रम धनगढीले पहिलोस्थान हासिल गर्दै फेष्ट विजेता घोषित भयो। त्यस्तै जनज्योति मा.वि महेन्द्रनगर प्रथम उपविजेता, घोडाघोडी मा.वि कैलाली दोस्रो उपविजेता र त्रिनगर मा.वि धनगढी तेस्रो उपविजेता बने। विजेता तथा उपविजेता टोलीहरूलाई मेडल र ट्रफी प्रदान गर्दै सम्मान गरिएको छ।
आरम्भ कानुनी पाठशाला र क्रिएटिभ ल स्टुडेन्ट्स फोरमको आयोजनामा हुने यो फेष्ट २०८० सालदेखि कक्षा ११ र १२ का कानून अध्ययनरत विद्यार्थीहरूको सिर्जनात्मक तथा व्यवहारिक कानुनी क्षमताको विकास गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको छ। यस वर्षको कार्यक्रम पनि सक्रिय सहभागितासहित भव्य रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
फेष्टअन्तर्गत कानूनी हाजिरीजवाफ, मुट कोर्ट, कानूनी मस्यौदा लेखन, संसदीय वहस र सिर्जनात्मक लेखन प्रतियोगिताहरू सम्पन्न गरिए। ती प्रतिस्पर्धात्मक कार्यक्रमहरूमा सुदूरपश्चिमका आठ विद्यालयका झण्डै ८० विद्यार्थीले सहभागिता जनाएका थिए।
कार्यक्रमका विभिन्न सेसनमार्फत विद्यार्थीहरूलाई कानूनी ज्ञानलाई व्यवहारिक ढङ्गले बुझ्न, आफूभित्रको क्षमता पहिचान गर्न तथा सामाजिक उत्तरदायित्वप्रति सचेत बन्न प्रेरित गर्न उक्त कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक ओम प्रकाश वस्तीले जानकारी दिए।
कार्यक्रमका वक्ताहरूले नयाँ पुस्ताले कानूनी शिक्षा गहन रूपमा अध्ययन गर्दै भविष्यमा प्रभावकारी कानूनी नेतृत्वको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता ठेकेन्द्र राज जोशी प्रमुख अतिथि रहेका थिए।