गेटा आँखा अस्पतालद्वारा बेलडाँडीमा आँखा शिविर आयोजना, ६७८ जनाले लिए सेवा
धनगढीः कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा सञ्चालन भएको एक दिने आँखा शिविरमा ६ सय ७८ जनाले उपचार सेवा प्राप्त गरेका छन्।
नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र बेलडाँडी गाउँपालिकाको संयुक्त आयोजना तथा रुईत फाउन्डेशनको सहयोगमा मंसिर २० गते रौलेश्वर जनता बहुमुखी क्याम्पसमा शिविर सञ्चालन गरिएको थियो। शिविरमा परिक्षणपछि १०४ जनालाई निःशुल्क मोतिबिन्दु अप्रेशनका लागि गेटा आँखा अस्पताल पठाइएको छ।
त्यसैगरी, अन्य बिरामीलाई शिविरमै निःशुल्क औषधि उपचार प्रदान गरिएको थियो भने २०३ जनालाई निःशुल्क चश्मा वितरण गरिएको अस्पतालले जनाएको छ।
उपचारका लागि अस्पताल पुग्न कठिनाइ भएका तथा आर्थिक अभावले सेवा नपाएका स्थानीयका लागि शिविर लाभदायक बनेको जनाइएको छ। गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम प्रमुख तथा वरिष्ठ नेत्र अधिकृत रमेश चन्द्र भट्टको नेतृत्वमा गेटा आँखा अस्पताल र आँखा अस्पताल महेन्द्रनगरका ११ जनाको टोलीले सेवा प्रदान गरेको थियो।
शिविर व्यवस्थापनमा बेलडाँडी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका तथा नेपाल प्रहरीका सुरक्षाकर्मीले सक्रिय भूमिका निर्वाह गरेका थिए।
प्रदेशभर अन्धोपन न्यूनीकरणका लागि गेटा आँखा अस्पतालले ९ जिल्लाका २९ शाखामार्फत नियमित सेवा दिँदै आएको छ। साथै, विभिन्न संस्थाको सहकार्यमा वर्षमा ५० भन्दा बढी स्थानमा आँखा शिविर सञ्चालन गर्दै सेवा पहुँच विस्तार गरिरहेको अस्पतालले जनाएको छ।