बाजुराको रानीशैन क्षेत्रमा बढ्दो अवैध गतिविधि रोक्न प्रहरी चौकी स्थापना गर्न माग
बाजुरा: जिल्लाको पर्यटकीय तथा औषधीय महत्त्व बोकेको रानीशैन हिमाल क्षेत्रमा चोरी–सिकारी, अवैध जडीबुटी सङ्कलन र तस्करी गतिविधि बढ्दै गएपछि तत्काल प्रहरी चौकी स्थापना गर्न माग गरिएको छ। यस सम्बन्धमा स्थानीय प्रतिनिधि तथा अनेरास्ववियूका नेता धर्मराज तिमिल्सेनाले गृहमन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन्।
हिमाली गाउँपालिका–३ मा पर्ने रानीसैन क्षेत्र सुरक्षा दृष्टिकोणले अत्यन्त संवेदनशील बन्दै गइरहेको उल्लेख गर्दै तिमिल्सेनाले बुझाएको ज्ञापन पत्रमा प्रहरी संरचना नहुँदा स्थानीय जनजीवन, सार्वजनिक शान्ति–सुरक्षा, सामाजिक स्थिरता तथा विकास–निर्माणका गतिविधिमा प्रत्यक्ष प्रभाव परेको जनाइएको छ। दुर्गम भौगोलिक अवस्था र कमजोर पहुँचका कारण यो क्षेत्र सुरक्षा अवलोकनबाट पछाडि परेको बताइएको छ।
रानीसैन उच्च औषधीय मूल्यका जडीबुटीहरूको मुख्य स्रोत मानिन्छ। तर हालका वर्षहरूमा अनियन्त्रित दोहन, अवैध सङ्कलन, तस्करी समूहको सक्रियता, वन तथा जैविक स्रोतको क्षति र सुरक्षाको न्यून उपस्थिति जस्ता समस्याले क्षेत्र गम्भीर जोखिममा परेको स्थानीय तह र सरोकारवालाहरूले बताएका छन्।
राष्ट्रिय सम्पदामा खतरा, राजस्व ह्रास, वातावरणीय स्थायित्वमा नकारात्मक असर र स्थानीय अर्थतन्त्र कमजोर हुँदै गएको अवस्थालाई रोक्न तत्काल प्रहरी चौकी स्थापना आवश्यक रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
गोरखापत्रबाट साभार