सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम महोत्सवको १९ औं संस्करण सुरू

२०८२ मंसिर २२, ०६:२१ नारायण अवस्थी

धनगढी: धनगढीमा सुदूरपश्चिम महोत्सवको १९ औं संस्करण सुरू भएको छ। सङ्घीय अर्थमन्त्री रामेश्वर खनालले सोमवार महोत्सवको उद्घाटन गरेका हुन्।

महोत्सव उद्घाटन गर्दै अर्थमन्त्री खनालले सुदूरपश्चिमको विकास र समृद्धिसँग जोडिएका आयोजना निर्माण र सञ्चालन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताए। "हाम्रो मुख्य काम सफलतापूर्वक निर्वाचन गर्ने हो। त्यसबाहेक विकास निर्माणको काम पनि गर्नुपर्ने हुन्छ," उनले भने, "गर्न सकिने विकास निर्माणका काम गर्न सरकार प्रतिबद्ध छ।" अर्थमन्त्री खनालले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न र दोधारा चाँदनीको सुख्खा बन्दरगाह निर्माण लगायतका योजना सरकारको प्राथमिकता रहेको बताएका छन्।

कैलाली उद्योग वाणिज्य संघले २०६३ देखि हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ। प्रदेशको पर्यटन, कृषि, उद्योग र व्यापारको विकास तथा विस्तारका साथै स्थानीय कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले बताए। उनले सुदूरपश्चिमको समग्र विकासका सम्भावनाहरूलाई उजागर गरी आर्थिक, सामाजिक प्रतिकूलता र विषम सामाजिक अवस्थाबाट गुज्रिएको उद्योग व्यवसायलाई पुनर्स्थापित गर्ने उदेश्यले महोत्सव आयोजना भएको बताए।

२०६३ सालमा २१ बुँदे मागपत्र बुझाएर महोत्सवको सुरुवात भएको स्मरण गर्दै अध्यक्ष ओझाले अझै कतिपय माग पूरा नभएको बताएका छन्। "सुदूरपश्चिमका समृद्धिका आधारलाई १९ वर्षदेखि सरकार समक्ष मागका रुपमा राख्दै आएका छौँ। केही माग पूरा भए, केही पूरा हुन बाँकी छन्," उनले भने, "उद्योग वाणिज्य संघले उठाएका महत्त्वपूर्ण मागहरू अहिलेसम्म पूरा भएका छैनन्। धनगढीमा प्रदर्शनीस्थलसम्म निर्माण हुन सकेको छैन।"

सुदूरपश्चिम महोत्सवका संस्थापक एवं धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले २०६३ सालमा सालिन आन्दोलनका रुपमा महोत्सवलाई सुरू गरिएको बताए। "सुदूरपश्चिमको समृद्धिका लागि आवश्यक मागहरू सरकार समक्ष पेस गर्ने एउटा सालिन आन्दोलनका रुपमा हामीले महोत्सव सुरू गरेका थियौँ," उनले भने, "यहाँको कला, संस्कृति र उत्पादनलाई एक ठाउँमा ल्याएर सुदूरपश्चिमको पर्वको रुपमा महोत्सव मनाउने परिकल्पना गरिएको थियो।"

नगर प्रमुख हमालले गेटामा विश्वविद्यालय सञ्चालन गर्न र सुदूरपश्चिमका रणनीतिक सडक तथा विकास आयोजना सम्पन्न गर्न वर्तमान सरकारले काम गर्नुपर्ने बताएका छन्। उनले चिसापानी-जङ्गलघाट-मङ्गलेस सडक निर्माण गर्नुपर्ने बताउँदै बैङ्किङ क्षेत्रमा समेत सुधार गर्न सरकारले काम गर्नुपर्ने माग राखेका छन्।

धनगढीमा आयोजना हुने सुदूरपश्चिम महोत्सवको उद्घाटनमा प्रधानमन्त्री, मन्त्री वा प्रदेशका मुख्यमन्त्रीलाई बोलाउने र सुदूरपश्चिमको समृद्धिका आधार मानिएका आयोजनाको निर्माणका लागि बुँदागत रुपमा मागपत्र बुझाउने गरिन्छ। प्रमुख अतिथि समक्ष जतिवटा माग राख्यो त्यति नै किलोग्रामको मालासमेत लगाइदिने चलन रहेकोमा यो पटक भने अर्थमन्त्री खनाललाई माला लगाइएन।

यो पटक महोत्सव आयोजनामा तीन करोड खर्च हुने तथा १५ करोड बराबरको कारोबार हुने कैलाली उद्योग वाणिज्य संघको अनुमान रहेको छ। सात लाख व्यक्तिले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ।

महोत्सव अवलोकनका लागि विद्यार्थी र खेलाडीलाई ५० रुपैयाँ तथा सर्वसाधारणलाई एक सय रुपैयाँ टिकटदर तोकिएको छ। जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई भने प्रवेशमा शुल्क नलाग्ने भएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस