मन्त्रालयमा दिनहुँ १५ मिनेटको ध्यान, त्यसपछि कार्यालयको काम
धनगढीः प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा दिनहुँ १५ मिनेटको ध्यान साधना पछि कार्यालयकोका काम गर्न थालिएको छ। मन्त्रालयमा मंसिर १० गतेदेखि १५ मिनेट ध्यान गरेर कार्यालयको काम गर्न थालिएको हो।
मंसिर १० गतेदेखि कार्यालय लागेको दिन १० बजेदेखि १५ मिनेटसम्म नियमित ध्यान गर्न थालेको मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले बताए। ध्यान प्रशिक्षकसमेत रहेका श्रेष्ठले मन्त्रालयका सबै कर्मचारीहरूलाई निमियत ध्यान गराउँदा सबैमा सकारात्क भावको विकास भएको र कर्मचारीबीच सम्बन्धसमेत सुमधुर भएको अनुभव गरेको बताए।
'हामीले मंसिर ८ गते स्टाफ बैठकबाट निर्णय गरेर मंसिर १० गतेबाट नियमित ध्यान गर्न थालेका छौँ। ध्यान गर्दा कर्मचारी साथीहरूको कार्यक्षमता सकारात्मक प्रभाव परेको अनुभव मन्त्रालयले गरेको छ,' उनले भने, 'नियमित ध्यान गर्नाले सकारात्मक भावको विकास हुने भएकाले कर्मचारीले सेवाग्राहीहरूसँग प्रसन्न भएर काम गर्न थालेको अनुभव हामीले गरेका छौँ।'
मन्त्रालयमा उपस्थित हुनासाथ सबै कर्मचारी मन्त्रालयको सभाहलमा जम्मा हुने र १५ मिनेट ध्यान गर्न थालेका हुन्। ध्यानको अभ्यासले कर्मचारीमा सकारात्मक परिवर्नत ल्याएर सरकारी सेवा प्रवाहलाई गुणस्तरीय, सरल र छिटोछरितो हुने विश्वास मन्त्रालयले लिएको छ।