भीमदत्त बहुप्राविधिक शिक्षालयमा छोटो अवधिको सीपमूलक तालिम सञ्चालन
बैतडी: बैतडीको पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयले स्थानीय नागरिकलाई सीपमूलक तालिम प्रदान गर्दै आएको छ। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को आंगिक शिक्षालयको रूपमा रहेको शिक्षालयले हरेक वर्ष छोटो अवधिको तालिम सञ्चालन गर्दै आएको शिक्षालय प्रमुख जीवनदत्त पन्तले बताए।
यस वर्ष पनि च्याउ उत्पादक (तह १) र बिल्डिङ इलेक्ट्रीसियन (तह १) तालिम सञ्चालन गरिएको छ। दुवै तालिम ६५ दिनसम्म चल्नेछन् र प्रत्येकमा २०/२० जनाको सहभागिता रहेको पन्तले बताए।
शिक्षालयले डिप्लोमा तहको सिभिल इन्जिनियरिङ, फार्मेसी र एग्रीकल्चर सम्बन्धी पढाइका साथै सोही विषयसँग सम्बन्धित छोटो अवधिका तालिम पनि सञ्चालन गर्दै आएको छ। निशुल्क रूपमा सञ्चालन भइरहेको यी तालिमबाट स्थानीय नागरिकले लाभ उठाउने पन्तले बताए।
तालिमको गुणस्तर सुनिश्चित गर्न राष्ट्रिय सीप परीक्षण समितिले मूल्यांकन गर्ने र यसका प्रशिक्षित व्यक्तिहरू वैदेशिक रोजगारमा समेत सहज हुने पन्तले जानकारी दिए।