कैलाली जिल्ला अदालत र कारागारमा आगजनी गरेको आरोपमा दश जना पक्राउ
धनगढीः गत २४ भदौमा भएको जेन्जी आन्दोलनका क्रममा कैलाली जिल्ला अदालतमा र कैलाली कारागारमा आगजनी गरेको आरोपमा दश जना पक्राउ परेका छन्। अदालतमा आगजनी गरेको आरोपमा ६ जना तथा कारागारमा आगजनी गरेको आरोपमा थप चार जना पक्राउ परेको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टका अनुसार उनीहरूलाई धनगढी उपमहानगरपालिका क्षेत्रबाट विभिन्न मितिमा पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता विष्टका अनुसार धनगढी उपमहानगरपालिका– ३ बस्ने २४ वर्षीय आशिष भण्डारी, ३० वर्षीय अमन केसी र बैतडीको पुर्चौडी घर भई हाल धनगढी– ३ बस्दै आएका २४ वर्षीय भरत बम, धनगढी-७ का एलेक्स चन्द, लक्ष्मण बहादुर विष्ट र धनगढी-१ मनोज विष्टलाई अदालतमा आगजनी गरेको अभियोगमा पक्राउ गरिएको हो।
भदौ २४ गतेको आन्दोलनको क्रममा धनगढी उपमहानगरपालिका–१ स्थित जिल्ला अदालत परिसरभित्र रहेका सवारीसाधन, कार्यालय भवन, कार्यालय भवनभित्र रहेका विभिन्न मुद्दाका सक्कलै मिसिल, कम्प्युटर लगायत सूचना प्रविधिका उपकरणहरुमा आगजनी र तोडफोड भएको थियो। सोही आरोपमा प्रहरीले धनगढीबाट ६ जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ।
जिल्ला अदालतले घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएको थियो। सोही जाहेरीका आधारमा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस्तै, कैलाली कारागारमा आगजनी गरेको आरोपमा धनगढी-२ का २८ वर्षीय गोपाल भट्ट, धनगढी-३ का जेम्स भनिने सुरज कटुवाल, धनगढी-९ का ४० वर्षीय बसन्तराज जोशी र १९ वर्षीय अंकित सक्सेना पक्राउ परेको प्रहरी निरीक्षक विष्टले बताए।