एमाले महाधिवेशनः सुदूरपश्चिमबाट ६ जना नेताहरु पदाधिकारीमा आकांक्षी
धनगढीः नेकपा एमालेको ११ औँ महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयनका लागि हुने महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ।
शनिबार सुरु भएर सोमबारसम्म चल्ने महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि १४० बढी प्रतिनिधि चयन भएर काठमाडौँ पुगेका छन् । प्रतिनिधि बाहेक केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टसहित केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेतासमेत गरी सुदूरपश्चिमबाट कम्ती पनि २०० जना नेताले नेतृत्व चयन प्रक्रियामा भाग लिने भएका छन् । जसमा आधा दर्जन बढी नेताहरू भने पदाधिकारीका आकांक्षी देखिएका छन् । पदाधिकारीमा आकांक्षा राख्नेमा अहिले केन्द्रीय कमिटीमा रहेका नेताहरू नै छन् ।
केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलेले उपाध्यक्ष पदमा दाबी दाबी गरेका छन्। यद्यपि, उनी अहिलेसम्म आफ्नो दाबीबारे खुलेर बोलिसकेका छैनन् । उनी निकटस्थ स्रोतका अनुसार भट्ट उपाध्यक्षका आकांक्षी हुन् । ‘पार्टी संकटमा परेका बेला उहाँ नेतृत्वको रक्षाका निम्ति दृढ र इमानदार भएर उभिने नेताहरूको पहिलो पंक्तिमा पर्नुहुन्छ । सचिव र सुदूरपश्चिम इन्चार्ज भएर काम गरिसक्नुुभएको छ,’ उनी निकट एक नेताले भने, ‘त्यसैले अब उपाध्यक्षका रूपमा काम गर्ने चाहना राख्नुभएको छ ।’
भट्टकै अगुवाइमा शंखमुलमा बुुधबार सुदूरपश्चिमबाट केन्द्रीय कमिटिमा प्रतिनिधित्व गर्ने नेताहरूले महाधिवेशन र पदको आकांक्षाबारे छलफल गरेका थिए ।
पार्टीका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले भने उपमहासचिवमा दाबी गर्ने सम्भावना रहेको नेताहरू बताउँछन् । भूगोलका नेताहरूसँगको छलफलमा पनि थापा र उनी पक्षीय नेताले उनलाई उपमहासचिवको उम्मेदवारका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका थिए ।
थापा स्वयंले समेत आफ्नो पदाधिकारीमा दाबी भएको बताए । उपमहासचिव वा सचिवमध्ये जुनसुकै पदमा भए पनि प्रतिस्पर्धा गर्न तयार रहेको उनी बताउँछन् । भट्ट र थापा बाहेक सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय कमिटिमा प्रतिनिधित्व गर्ने अन्य नेताहरूले पनि पदाधिकारीमा आकांक्षा राखेका छन् । अहिलेसम्म पाँच जना नेताले खुलेर सचिवमा आफ्नो दाबी रहने बताएका छन् ।
सचिवको आकांक्षा राख्नेमा पूर्वमन्त्री समेत रहेका पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्ना, नारदमुुनि राना, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दामोदर भण्डारी, लालबहादुर थापा र झपट रावल रहेका छन् । उनीहरूमध्ये ठगुन्ना, भण्डारी र थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर आफ्नो अकांक्षा पेस गरिसकेका छन् । पार्टी अध्यक्षसँग सचिवमा इच्छा व्यक्त गरेको बताउँदै ठगुन्नाले नेतृत्वमा छलफल गर्ने प्रतिक्रिया दिएको बताएका छन् ।
यस्तै, अध्यक्ष ओलीलाई भेटेर सचिवमा आकांक्षा राखेका निवर्तमान उद्योग मन्त्री दामोदर भण्डारीले पार्टीको मूल लिगेसीको रक्षा र एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनका निमित्त नेतृत्वमा दाबी भएको बताए ।
सचिवका अर्का दाबेदार लालबहादुर थापाले पार्टीमा सन्तुलित ढंगले नेतृत्व विकास गर्नुपर्ने पक्षमा आफू रहेको बताए ।
उनले सैद्धान्तिक र राजनीतिक हिसाबले सन्तुुलित रूपमा नेतृत्व विकास गर्नुपर्ने भएकाले सोहीअनुसार उम्मेदवार बनाउनुुपर्ने बताउँदै त्यसो हुँदा आफू पनि सिनियर नेता भएकाले समेटिने उल्लेख गरे । कैलाली इन्चार्ज समेत रहेका पोलिटब्युरो सदस्य नारदमुनि रानाले पनि पदाधिकारीमा आफ्नो दाबी भएको बताए तर नेतृत्वले गर्ने व्यवस्थापनअनुसार आफू अघि बढ्ने उनको भनाइ छ ।
अर्का केन्द्रीय सदस्य झपट रावलले पनि सचिवमा दाबी गरेका छन् । रावलले १२ वर्षसम्म केन्द्रीय सदस्यका रूपमा काम गरिसकेकाले सचिवमा दाबी भएकाले सहयोगका लागि भूगोलका नेताहरूसँग आग्रह गरेका छन् ।
पोलिटब्युुरो सदस्यद्वय राजेन्द्र सिंह रावल र लिला भण्डारीले भने पदाधिकारीमा आकांक्षा भए पनि पार्टीको नीतिविपरीत अहिले नै स्वघोषणा नगर्ने बताएका छन् । पदमा स्वघोषणा नगर्ने तर नेतृत्वले जिम्मेवारी दिएमा अघि बढ्न तयारी भएको प्रतिक्रिया उनिहरुको छ ।