सुदूर नेपाललाई विश्वसँग जोड्दै

होटेल क्षेत्रका समस्या समाधानका लागि सरोकारवालाको सामूहिक प्रतिबद्धता

२०८२ मंसिर २८, ०४:२८ जयन्त सिंह भाट

धनगढीः कैलालीमा होटेल व्यवसायले भोग्दै आएका समस्या समाधानका लागि सरोकारवाला निकायले सामूहिक प्रतिबद्धता जनाएका छन्। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा जारी सुदूरपश्चिम महोत्सव अन्तर्गत ‘भिजन सुदूरपश्चिम’ कार्यक्रमको पाँचौँ शृङ्खलामा ‘सुदूरपश्चिममा होटेल व्यवसायः लगानी, समस्या र श्रमशक्ति’ विषयमा आयोजित बहसमा सहभागीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्।

बहस कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष केशवदत्त पाण्डेय, एसोसिएसन अफ हस्पिटालिटी ट्रेनिङ इन्स्टिच्युट कैलालीका अध्यक्ष कमल पनेरु, होटेल व्यवसायी तथा अन्य सरोकारवाला सहभागी थिए।

कार्यक्रममा बोल्दै होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष पाण्डेयले सरकारी नीतिका कारण होटेल व्यवसाय अपेक्षित रूपमा अगाडि बढ्न नसकेको गुनासो गरे। प्रदेश तथा पर्यटन लक्षित ठूला होटेलले स्थानीय, प्रदेश र संघीय सरकारलाई तेहोरो कर तिर्नुपरे पनि सोअनुसार सेवा सुविधा नपाएको उनले बताए। राजधानी धनगढीमा राति १० बजेअगावै होटेल बन्द गराउनुपर्ने व्यवस्था व्यवहारिक नभएको उल्लेख गर्दै रात्रिकालीन व्यवसाय सञ्चालनका लागि समय थपिनुपर्ने माग गरे। सुदूरपश्चिममा होटेल क्षेत्रमा मात्रै २५ अर्ब रुपैयाँभन्दा बढी लगानी भई करिब ५० हजार जनाले रोजगारी पाएको उल्लेख गर्दै सरकारले होटेल व्यवसायीको समस्या समाधानमा गम्भीर हुनुपर्ने उनको भनाइ थियो।

एसोसिएसन अफ हस्पिटालिटी ट्रेनिङ इन्स्टिच्युट कैलालीका अध्यक्ष पनेरुले सुदूरपश्चिममा होटेल क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन हुँदै आएको बताए। तर, दक्षताअनुसारको पारिश्रमिक नपाउँदा श्रमिक निरुत्साहित हुने अवस्था रहेको उनले बताए। पछिल्ला वर्षहरूमा धनगढीमा खुलेका कफी हाउस तथा क्याफेमा यहीँ तालिम लिएका कामदार स्वरोजगार बन्दै गएको पनि उनले उल्लेख गरे।

होटेल डिभोटीका महाप्रबन्धक हरिष भण्डारीले सुदूरपश्चिममा पर्याप्त पर्यटकीय तथा धार्मिक स्थल रहे पनि विदेशी पर्यटक भित्र्याउने सरकारी नीति प्रभावकारी हुन नसकेको बताए। भारतका उत्तर प्रदेश र उत्तराखण्डका पर्यटकलाई आकर्षित गर्न सके होटेल व्यवसाय सहज रूपमा फस्टाउने उनको भनाइ थियो।

यस्तै इन्द्रेणी दोहोरी साँझकी सञ्चालक राधिका लम्सालले रात्रिकालीन व्यवसाय सञ्चालनमा देखिएको समस्याबारे गुनासो गरिन्। जिल्ला प्रशासन कार्यालयबाट १२ बजेसम्म सञ्चालन अनुमति लिए पनि पछि १० बजेमै बन्द गर्नुपर्ने बाध्यता सिर्जना भएको भन्दै उनले यसले व्यवसायलाई ठूलो असर पारेको बताइन्।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले शान्ति सुरक्षालाई ध्यानमा राख्दै होटेल क्षेत्रमा बेला–बेला चेकिङ गरिने बताए। रात्रिकालीन व्यवसाय सञ्चालनका लागि स्पष्ट कार्यविधि भए पनि छरिएर रहेका व्यवसायमा सुरक्षा चुनौती हुने उनको भनाइ थियो। हालको सुरक्षा अवस्था र आसन्न निर्वाचनका कारण तत्काल रात्रिकालीन व्यवसाय विस्तार गर्न कठिन भए पनि निर्वाचनपछि सरोकारवालासँग छलफल गरिने उनले बताए।

कैलाली उद्योग वाणिज्य संघले यस वर्षदेखि सुदूरपश्चिम महोत्सवमा मनोरञ्जनसँगै बिहानको समयमा ‘भिजन सुदूरपश्चिम’ नामक बहस कार्यक्रम सुरु गरेको हो। यसअघि कृषि, खेलकुद, शिक्षा, उद्योग तथा व्यापारसम्बन्धी विषयमा बहस भइसकेको छ भने आइतबार होटेल व्यवसायसम्बन्धी पाँचौँ शृङ्खला सम्पन्न भएको हो।
 

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस