सुदूर नेपाललाई विश्वसँग जोड्दै

फोहोर व्यवस्थापनमा कोरियाको सियोलबाट सिकेका कुराहरु

२०८२ पुष १, १२:१९

नरेन्द्र बहादुर खातीः फोहोर व्यवस्थापनको लागि हामीले पाँचवटा R मा काम गरेको अनुभव छ।

एउटा R‘Reuse’ । यसले हामीले गरेको फोहोरलाई पुन: प्रयोग गर्नेबारे बताउँछ। उदाहरणका लागि हामीले तरकारी पकाउनु छ। पकाउनु अगाडी केलायौं। केलाउँदा पकाएर खान नमिल्ने खालका भागहरु हामी छुट्याउँछौँ। एकछिनलाई हाम्रा लागि त्यो फोहोर भयो। अब त्यो फोहोरलाई कुहाउने भाँडोमा राखेर वा जमीनमा खाल्डो राखी कुहाएर कम्पोष्ट मल बनाई बारीमा प्रयोग गर्न सक्छौँ।

दोस्रो R‘Refuse’। यसमा अनावश्यक वस्तुहरुलाई अस्वीकार गरेर फोहोर व्यवस्थापन गर्ने काम गर्न सकिन्छ। जस्तै होटलमा खाना खानका लागि स्टील वा धातुका भाँडाकुँडाहरुको प्रयोग गर्ने व्यवस्था मिलाएर एक पटक प्रयोग गरिसकेपछि फाल्नु पर्ने प्लाष्टिक वा पेपरका भाँडाकुँडाको प्रयोगलाई अस्वीकार गर्न सकिन्छ। कागज वा फ्लेक्सको माध्यमबाट गरिने विज्ञापनलाई अस्वीकार गरेर सामाजिक सञ्जाल, रेडियो, टेलिभिजन मार्फत विज्ञापन गर्न सकिन्छ।

तेस्रो R‘Reduce’। यसमा हामीले आफूलाई आवश्यक वस्तु मात्र उपभोग गरेर फोहोर व्यवस्थापन गर्न सकिन्छ। बारम्बार चाहिने सामग्रीको पुन: प्रयोग गरेर पनि फोहोर घटाउन सकिन्छ। धेरै चाहिने कुराहरु एकैपटक धेरै मात्रामा खरीद गरेर पनि फोहोर घटाउन सकिन्छ। उदाहरणका लागि हामीले पसलबाट दैनिक उपभोग्य सामान ल्याउनका लागि सँधै प्रयोग गर्न मिल्ने कपडाको झोला व्यवस्थापन गरेर घरबाटै लैजान सक्छौँ। एउटा लुगा धुने साबुनको सट्टा एकभन्दा बढी एउटैमा प्याक गरिएको लुगा धुने साबुन खरीद गरेर प्याकेजिङका कारण उत्पन्न फोहोर घटाउन सहयोग गर्न सक्छौँ।

 

चौथो R ‘Repurpose’। यो Reuse सँग मिल्दोजुल्दो शब्द हो। यसमा हामीले एकपटक प्रयोग गरिसकेपछि फोहोरको रुप लिने सामग्रीको सट्टा टिकाउ विकल्प भएका सामग्रीहरु प्रयोग गर्न सक्छौँ। बारम्बार प्रयोग गरिरहन मिल्ने सामग्रीहरु प्रयोग गर्न सक्छौँ। उदाहरणका लागि पानी पिउनका लागि लामो समय प्रयोग गर्न मिल्ने बोतलको प्रयोग गर्न सक्छौँ। भान्छाका सामग्रीहरु राख्नका लागि लामो समय प्रयोग गर्न मिल्ने धातु वा शिशाका भाँडाकुँडाहरु प्रयोग गर्न सक्छौँ।

पाँचौं R ‘Recycle’। यो फोहोरको पुन: चक्रीकरण गर्ने प्रक्रिया हो। यसमा फालिने फोहोर सामग्रीको संकलन गरेर आवश्यक प्रशोधन गरी नयाँ वस्तु उत्पादन गरिन्छ। माथिका चारवटा R को प्रयोगबाट फोहोर व्यवस्थापन हुन नसक्ने अवस्थामा यो R अर्थात Recycle को प्रयोग हुन्छ। उदाहरणका लागि हामीले घरमा बिजुलीबाल्नका लागि प्रयोग गरिएको तामाको तार बिग्रियो भने यसलाई Recycle गर्नु पर्ने हुन्छ। हामी घरबाट यसलाई निकालेर फाल्छौँ। फोहोर व्यवस्थापकले तार र तारलाई ढाक्न प्रयोग गरिएको प्लाष्टिक अलग अलग निकालेर प्याक्ट्रीमा पठाउने गर्दछन् भने फ्याक्ट्रीले प्लाष्टिकबाट प्लाष्टिकजन्य र तारबाट धातुजन्य भाँडाकुँडा वा सामग्री बनाएर पुन: बजारमा पठाउने गर्दछन्।

फोहोर व्यवस्थापनको अध्ययन अवलोकनकाक्रममा कोरिया भ्रमण गर्दा हामीले केही नयाँ कुराहरु सिक्यौँ। ती नयाँ कुराहरुलाई फोहोर व्यवस्थापनका पाँचवटा R जसरी भन्नु पर्दा U र H सिक्यौँ।

पहिले U को बारेमा उल्लेख गरौँ। फोहोर व्यवस्थापनमा U को पुरा रुप Upcycle हो भनेर मानौँ। हाम्रो अध्ययन अवलोकन दक्षिण कोरियाको Seoul MetropolitanCity केन्द्रित थियो। City मा २५ जिल्ला रहेछन्। नेपालमा स्थानीय तह अन्तर्गत वडा भएजस्तै त्यहाँ जिल्ला हुने रहेछ। अर्थात अझैं बुझिने गरी भन्नु पर्दा जिल्ला भनेको नगरपालिकाको वडा।

पूरै शहरको फोहोर व्यवस्थापनका लागि सरकारी तथा गैरसरकारी तवरबाट काम भैरहेको रहेछ। Landfill Site, Upcycle Centre, Resource Centre र केही नयाँ प्रविधिमैत्री तवरबाट फोहोर व्यवस्थापन हुने गरेको रहेछ । हामीले त्यहाँ तीनवटा Upclycle Centre र एउटा e-Waste Management को Resource centre को अवलोकन गरेर Upcycling मार्फत कसरी फोहोर व्यवस्थापन गर्न सकिने रहेछ भन्ने बारे थाहा पायौँ।

 

Seoul Upcycle Plaza बाट हामीले एकपटक प्रयोग गरेका सामग्रीहरुलाई Upcycle गरी नयाँ सामग्रीका रुपमा कसरी प्रयोग योग्य बनाउन सकिने रहेछ भन्ने थाहा पायौँ। त्यहाँ वियरको बोतलबाट सिलिङमा झुण्ड्याउन मिल्ने सुन्दर Light साम्रगी (झुमर) बनाएको, बिग्रेका मोबाईल, क्यामेरा, चार्जरबाट भालुको सुन्दर मुर्ति बनाएर सजाईएको, गाडीमा प्रयोग हुने किलाकाँटा (Nutbolt)बाट सुन्दर सजावटका सामग्रीहरु बनाएको, एक पटक प्रयोग गरेर फालिएका कपडाहरुबाट झोला, थैला, खुतुक्रे बनाएको देख्यौँ। त्यहाँ जति देख्यौँ, त्यो सबैको वर्णन गर्न धेरै समय लाग्छ। छोटकरीमा भन्नु पर्दा हरेक फोहोरलाई Upcycle गरेर पुन: प्रयोग गर्न मिल्ने बानउन सकिने रहेछ भन्ने त्यहाँबाट सिक्यौँ।

Gwangmyeong Upcycle Art Centre मा पुग्दा Seoul Upcycle Plaza को स्मरण गर्दै नयाँ कुराहरु सिक्यौँ। होटलमा प्रयोग गरेर फालिएका चम्चाहरुबाट बनाइएको चराको सुन्दर मूर्ति, फालिएका टाईहरुबाट आइसक्रिमको आकारमा बनाइएको सजावट सामग्री, फालिएका खेलौनाहरुका विभिन्न भागहरु जोडेर बनाएका तला चिनाउने साइनबोर्ड गजब लागे।

यी दुईवटै Upcycle Centre मा कुन फोहोरलाई कसरी Upcycle गर्ने भन्ने सन्दर्भमा नियमित अनुसन्धान हुने काम पनि हुने रहेछ । Gwangmyeong मा अनुसन्धान गर्न र सिक्ने आउने व्यक्तिहरुका लागि Workshop नै व्यवस्थापन गरिएको रहेछ । त्यहाँ यसको प्रतियोगिता पनि हुने रहेछ।

हामीले अवलोकन गरेको तेस्रो Upcycle Centre हो, Beautiful Store। यसमा दाताहरुबाट प्राप्त सामग्रीलाई Upcycle गरी पुन: प्रयोगयोग्य बनाएर बजारमा ल्याउने काम गरिने रहेछ। ती सामग्रीहरु च्यारिटी अन्तर्गत नि:शुल्क तथा स्टोर मार्फत श:शुल्क, तर एकदमै थोरै मूल्यमा विक्री वितरण गरिने रहेछ। Seoul को एउटा स्टोरमा दाताबाट प्राप्त कपडाहरु स्टोरले सफा तथा मर्मत सम्भार गरी थोरै मूल्य राखेर बिक्री गर्ने व्यवस्था मिलाएको पाईयो। यसबाट धेरै मूल्य तिर्न नसक्नेहरुका लागि कपडाहरु प्राप्त गर्ने अवसर मिल्ने रहेछ।

Seoul Resource Centre को अवलोकनबाट e-Waste को व्यवस्थापन कसरी गर्न सकिने रहेछ भन्ने सिक्यौं। Centre का अनुसार ठूला विद्युतीय उत्पादन कम्पनीले आफ्ना सामग्रीहरुले सिर्जित फोहोरको व्यवस्थापन आफैं गर्नु पर्ने रहेछ। जस्तै कुनै फ्रिज उत्पादन गर्दछ भने ग्राहकले उसको फ्रिज प्रयोग गरिसकेपछि विग्रियो वा अन्य कारणले फोहोरमा परिणत भयो भने कम्पनीले व्यवस्थापन गर्नु पर्ने रहेछ। साना-साना सामग्रीहरुको यहाँ व्यवस्थापन हुने रहेछ। तिनमा विग्रेका पंखा, राइस कुकर, मोबाइल, चार्जर, टर्च लगायतका पर्ने रहेछन्।  Centre ले यी फोहोरलाई Crush गरेर सबै भाग अलग अलग गरी प्याकिङ गरेर फ्याक्ट्रीहरुको कच्चा सामग्रीका रुपमा बिक्री गरिने रहेछ।

अर्को अक्षर हो H । यहाँ H बाट Habit बनाउ। यो Seoul City को फोहोर व्यवस्थापनको रामवाण रहेछ। हामीकहाँ बाटोमा हिड्दै चकलेट खाएर खोस्टा बाटोमा फाल्दै हिड्नु। चुरोट वा बिडी खाएर ठुटो निभाएर वा ननिभाईकनै बाटोमा फाल्नु। बाटोमा फलफूल खाँदै हिँड्दै, खोस्टा बाटोमा फाल्दै हिँड्नु।  उस्तै परे तरकारी बजारबाट तरकारी किनेर ल्याउँदै गर्दा अनावश्यक भाग बाटोमा फाल्दै जानु नयाँ अभ्यास होइनन्। सबैलाई थाहा छ, यी राम्रा अभ्यास पनि होइनन्। तर पनि अधिकाँशले गरिरहेकै छन्। नियमन गर्ने कानून भएको अवस्थामा नियमनकारी निकायले नियम गर्न खोज्दा कसरी बर्खिलापको प्रयास गरिन्छ। त्यो हामी सबैलाई थाहै छ।त्यहाँका अधिकारीसँग फोहोर व्यवस्थापनमा हाम्रा जस्तै कु-अभ्यासहरु छन् कि भनेर बुझ्न खोज्दा त्यो कल्पना नै नगरिएको जवाफ पाइयो। यद्दपि नयाँ अभ्यास गर्न खोज्दा अवरोधको प्रयास भने त्यहाँ पनि हुने रहेछ।

फोहोर व्यवस्थापनमा Habit को प्रयोग Seoul बासीहरुले यत्रतत्र सर्वत्र गर्दा रहेछन्। हामीले होटलमा खाना खाँदा पनि असल अभ्यास भेटायौँ। त्यहाँ खानाको हरेक उत्पादनलाई उपभोग योग्य बनाइदो रहेछ। उदाहरणका लागि हामी भात पकाउँदा निस्किएको चौलानी अर्थात माँड फाल्छौँ। त्यहाँ त्यसलाई खाना खाइसकेपछि पिउने पेय पदार्थ बनाइएको पायौँ। Rice Soup भनेर।

खाना खाइसकेपछि ग्राहकले नै आफूले प्रयोग गरेका भाँडाकुँडाहरु निश्चित ठाउँमा राख्नु पर्ने रहेछ। मानौँ मैंले प्लेट, कचौरा, चम्चा, गिलास, टिस्यू पेपर प्रयोग गरेर खाना खाएँ। अलिकति खानेकुरा खान सकिन, बच्यो। अब त्यो मैंले आफूले खाना खाएको टेबलबाट उठाएर निश्चित ठाउँमा मैंले नै लगेर पहिले प्लेटबाट बचेको खाना बचेको खाना राख्ने ट्रेमा राख्नु पर्‍यो। त्यसपछि प्लेट, कचौरा, चम्चा, गिलास, टिस्यू पेपरलाई अलग अलग ठाउँमा जहाँ राख्न निर्देशन गरिएको छ, त्यहाँ राख्नु पर्‍यो। यसमा कहीं कहीं त एक पटक प्रयोग गरिने सामग्री फिर्ता गर्दा निश्चित रकम फिर्ता समेत पाइने रहेछ।

Seoul मा Food Waste को व्यवस्थापन आधुनिक तवरबाट गरिएको पाइयो। बसोबास स्थानका निश्चित खाली क्षेत्रमा एउटा मेशिन जडान गरिएको हुने रहेछ। त्यो मेशिन चौबिसै घण्टा सञ्चालन भईरहने। हरेक घरलाई प्रिपेड कार्ड मार्फत उक्त मेशिनमा जोडिएको हुने रहेछ। घरमा उत्पादित Food Waste लाई घरका सदस्यले ल्याएर मेशिनमा हाल्दा रहेछन्। मेशिनको ढक्कन खोल्न मेशिनका Touch गरेर Card Read गराउनु पर्दो रहेछ। बुझ्नका लागि नेपालमा बैंकमा पैसा झिक्न जाँदा ATM प्रयोग गरे जस्तै, जस्तै। ढक्कन खुलेपछि मेशिनमा फोहोर हाल्न मिल्यो। मेशिनमा हालेको फोहोरको तौल स्वचालित (Automatic) भएर ग्राहकको Card बाट तौल बराबरको शुल्क पनि तत्कालै Auto भुक्तानी हुने व्यवस्था मिलाइएको रहेछ।

मेशिनमा हालिएको कुल फोहोरको ८५ प्रतिशत जति त्यही किराहरुले खाने रहेछन्। बाँकी १५ प्रतिशत जतिको कम्पोष्ट बन्ने रहेछ। जुन सामान्यतया महँगोमा बिक्री हुने रहेछ। यसमा पनि Seoul बासीको Habit Formation भइसकेको रहेछ।

अब अन्तिममा अनौपचारिक कुरा गरौँ। अनौपचारिक क्षेत्रको- सडकको, Railway को, Airport को, Open Space को। यी र यस्तै ठाउँमा त्यहाँ फोहोर देखिएन। यहाँ हिड्ने, आउने, बस्नेले आफूले गरेको फोहोरको व्यवस्थापन आफै गर्दा रहेछन्। हामी कहाँ बसपार्कमा बसीरहेको नागरिकले पानी खाएर बोतल रित्तो हुँदा त्यही फाल्छ। फाल्दा पनि त्यो बोतलले ठुलै अपराध गरे झैं गरी सकभर कुच्याएर, च्यातेर अझ लात्ताले हानेर फुटबल खेले झैं पर हुत्याएर फाल्ने चलन छ। त्यहाँ त्यस्तो देखिएन। अधिकाँशले झोला बोकेकै हुने। बोतल रित्तिदा झोलामा राखेर लैजाने। चकलेट, विस्कुट र पेय पदार्थ जे खाएपनि खोस्टा, बोतल आफै लगेर व्यवस्थापन गर्ने।

फोहोर व्यवस्थापनका लागि गरिएका Seoul का यी अभ्यासमा धेरै समय भएको रहेनछ। केही अभ्यास सन् २००० पछि हेकी सन् २००२ त कुनै २००५ तथा कुनै सन् २०१० केही सन् २०२० बाटै थालिएका रहेछन्। माथि नै भनिसकिएको छ। एक पटक फेरी दोहोर्‍याऊ – कुनै नयाँ अभ्यास हुँदा अवरोध, विरोध त्यहाँ पनि हुने रहेछ। तर सरकारले जुन प्रणाली लागु गर्यो, त्यो चाँही अक्षरस: सबैले पालना गर्दा रहेछन। सँधै भरी, सबै ठाउँमा, सबैले। अनि पो Seoul सुन्दर र सफा शहर भएको रहेछ। (खाती, धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन्)


 

कमेन्ट लोड गर्नुस