टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ : कुलमान घिसिङ
काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर व्यारेजबाट नेपालतर्फ पानी पठाउन भारतसँग निरन्तर प्रयास भइरहेको जानकारी दिए।
मन्त्री घिसिङले राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देवस्थित व्यारेज आज बिहान निरीक्षण गर्दै दुई देशका संयन्त्र र द्विपक्षीय भेटमा भारतीय पक्षसँग पानी नेपालतर्फ पठाउने अनुरोध निरन्तर भइरहेको बताए।
कञ्चनपुरका करिब पाँच हजार हेक्टर सुक्खाग्रस्त जमिनमा तुरुन्त सिँचाइ सुविधा उपलब्ध गराउन नेपालतर्फ मुख्य नहर, शाखा नहर र प्रशाखा नहर निर्माण भइसकेको छ। मन्त्री घिसिङले भारतीय पक्षबाट जलप्रवाह सुरु हुने विश्वास व्यक्त गरे।
नेपाल–भारतबीचको एकीकृत महाकाली सन्धिअनुसार नेपालले हिउँदयामास ३०० क्युसेक र वर्षायाममा १,००० क्युसेक पानी पाउने व्यवस्था छ। सन्धिअनुसार पानीको उपयोग गरी सिँचाइ सुविधा उपलब्ध गराउन आवश्यक संरचना निर्माण भइसकेको छ। तर, पानी सञ्चालन नहुँदा निर्माण संरचना बिग्रिन थालेको आयोजनाले जनाएको छ।
महाकाली सिँचाइ आयोजनाले सतह सिँचाइबाट २८ हजार हेक्टर र भूमिगत सिँचाइबाट पाँच हजार हेक्टर गरी कुल ३३ हजार हेक्टर क्षेत्रमा दिगो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ। आयोजनाको कुल अनुमानित लागत रु ३५ अर्ब रहेको छ।