कैलालीमा तीन महिनामै घरेलु हिंसाको १ सय ३२ उजुरी दर्ता
धनगढी: कैलाली जिल्लामा घरेलु हिंसाका घटनाहरू चिन्ताजनक रूपमा बढ्दै गएको देखिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार १०५ दिनको अवधिमा जिल्लाभर १ सय ३२ वटा घरेलु हिंसासम्बन्धी उजुरी दर्ता भएका छन्।
स्थानीय तहगत विवरणअनुसार धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी ७३ वटा उजुरी दर्ता भएका छन्। त्यसपछि गोदावरी नगरपालिकामा १६, टीकापुर नगरपालिकामा १२ र घोडाघोडी नगरपालिकामा ८ वटा घरेलु हिंसाका घटना रिपोर्ट भएका छन्।
लम्की–चुहा नगरपालिकामा ५, भजनी नगरपालिकामा ३, गौरीगंगा नगरपालिकामा ४ र कैलारी गाउँपालिकामा ३ वटा उजुरी दर्ता भएका छन्। ग्रामीण क्षेत्रमा जोशीपुर र चुरे गाउँपालिकामा २–२ वटा, मोहन्याल गाउँपालिकामा १ र जानकी गाउँपालिकामा ३ वटा घरेलु हिंसाका घटना देखिएका छन्। बर्दगोरिया गाउँपालिकामा भने हालसम्म कुनै पनि घरेलु हिंसाको उजुरी दर्ता नभएको तथ्याङ्कले देखाएको छ।
यद्यपि केही स्थानीय तहमा उजुरी संख्या न्यून देखिनु वास्तविक अवस्था नभई सामाजिक लाज, डर तथा कानुनी जानकारीको अभावका कारण धेरै घटना बाहिर नआएको हुन सक्ने सरोकारवालाहरूको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले घरेलु हिंसा न्यूनीकरणका लागि समुदायस्तरमा सचेतना अभियान, पीडितमैत्री उजुरी प्रणाली र स्थानीय सरकारसँग सहकार्यलाई प्राथमिकतामा राखिएको जनाएको छ। तर दीर्घकालीन समाधानका लागि कानुनको प्रभावकारी कार्यान्वयन, आर्थिक सशक्तीकरण र सामाजिक सोचमा परिवर्तन अपरिहार्य रहेको निष्कर्षमा सरोकारवालाहरू पुगेका छन्।
सरोकारवालाहरूका अनुसार ‘घर–घरमै शून्य सहनशीलता’को अभियान प्रभावकारी रूपमा सञ्चालन नभए कैलालीमा घरेलु हिंसाको समस्या अझ गहिरिँदै जाने जोखिम रहेको छ।