सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रको निर्माण अन्तिम चरणमा

२०८२ पुष ५, ०५:०४ खबर संवाददाता

धनगढी: कैलालीको धनगढीमा निर्माणाधीन एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र अन्तिम चरणमा पुगेको छ। उपमहानगरभित्र बढ्दो फोहरमैला व्यवस्थापन चुनौतीलाई समाधान गर्न संघीय सरकारको क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा धनगढी–७, पटेलामा अत्याधुनिक केन्द्र निर्माण भइरहेको हो।

भ्याटबाहेक ९६ करोड रुपैयाँ लागतको यो आयोजना चिनियाँ कम्पनी सिचुवान प्रोभेन्स जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्स कम्पनी लिमिटेडले निर्माण गरिरहेको छ। कम्पनीका अनुसार हाल भौतिक प्रगति ८७ प्रतिशत पुगेको छ र अबको चार महिनाभित्र केन्द्र सञ्चालनमा आउनेछ। निर्माण अवधि आगामी ३ अप्रिलसम्म रहे पनि सोअघि नै काम सकिने बताइएको छ। सम्झौताअनुसार कम्पनीले तीन वर्ष सञ्चालन गरेर उपमहानगरलाई हस्तान्तरण गर्नेछ।

साढे ३२ विघा क्षेत्रफलमा फैलिएको यो केन्द्र ३० वर्षसम्म धनगढीको फोहरमैला व्यवस्थापन गर्न सक्ने गरी डिजाइन गरिएको हो। यहाँ दैनिक १३.६६ टन फोहरमैला प्रशोधन हुनेछ। कुहिने फोहरबाट जैविक मल, प्लाष्टिकजन्य फोहर पुनः प्रयोग तथा बाँकी नकुहिने फोहर डम्पिङ गरिनेछ। आन्तरिक सडक र हरियाली प्रवद्र्धनका केही काम बाँकी छन्।

सन् २०२२ मा सम्झौता भए पनि निर्माण स्थल निर्धारण र रुख कटान आदेशका कारण दुई वर्षपछि मात्र निर्माण सुरु भएको थियो। हाल उपमहानगरले दैनिक २१ टन फोहरमैला संकलन गर्दै आएको छ। वर्गीकरणपछि करिब ३० प्रतिशत नकुहिने फोहर डम्पिङ गर्नुपर्ने भए पनि स्थान अभाव ठूलो समस्या बनेको छ।

केन्द्र सञ्चालनमा आएपछि फोहरमैला व्यवस्थापन सहज हुने उपमहानगरले जनाएको छ। यसैबीच, क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत गोदावरी नगरपालिकामा झण्डै एक अर्ब लागतको समान प्रकृतिको केन्द्र हालै सञ्चालनमा आइसकेको छ।
 

कमेन्ट लोड गर्नुस