सुदूर नेपाललाई विश्वसँग जोड्दै

बोलाइयो कार्यव्यवस्था समितिको बैठक

२०८२ पुष ७, ०९:०४ खबर संवाददाता

धनगढीः गत भदौ २३ र २४ गते भएको जेनजी समूहको आन्दोलनपछि स्थगित रहेको सुदूरपश्चिम प्रदेशको प्रदेश सभा सञ्चालन हुने देखिएको छ। 

प्रदेश सभा सचिवालयले बैठक सञ्चालनका लागि तयारी थालिसकेको छ। प्रदेश सभा सञ्चालनकै लागि छलफल गर्नका लागि सभामुख भीमबहादुर भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्। सोमवारका लागि बोलाएको समितिको बैठकमा बैठक सञ्चालन विषयका साथै प्रदेश सभामा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने विषयमा छलफल हुने प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए।

सभामुख भण्डारीले बजेट अधिवेशन अन्त्य गरेर हिउँदे अधिवेशन चलाउनका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव गरेका छन्। यद्यपि त्यस विषयमा निर्णय भइसकेको छैन। भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा प्रदेश सभामा आगजनी र तोडफोड गरेपछि अधिवेशन स्थगित भएको थियो।

अधिवेशन अन्त्यका लागि सभाको बैठक नै बस्नुपर्ने अनिवार्य नरहेको जनाउँदै सचिव बोगटीले भन्े, “प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेर प्रदेश प्रमुखसमक्ष अधिवेशन अन्त्यका लागि सिफारिस गर्न सक्छ। प्रदेश प्रमुखले अधिवेशन अन्त्यको पत्र प्रदेश सभा सचिवालयमा पठाएमा सूचना टाँस गरेर अधिवेशन अन्त्यको जानकारी दिन सकिन्छ।”

सभामुखले बजेट अधिवेशन अन्त्य गरेर हिउँदे अधिवेशनमा अगाडि बढ्दा राम्रो हुने धारणा राख्नुभएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ। हिउँदे अधिवेशनलाई विधेयक पारित गरी ऐन, कानुन निर्माण गर्ने अधिवेशनका रूपमा लिने गरिन्छ। सचिवालयका अनुसार प्रदेश सभा भवनमा अब प्राविधिक सामग्री जडान र कुर्सी राख्ने कार्य बाँकी रहेको छ । सम्पूर्ण काम चाँडै सम्पन्न गरेर पुस १० गतेसम्म प्रदेश सभाको बैठक सञ्चालन गर्न सकिने सचिव बोगटीले जानकारी दिए।   

कमेन्ट लोड गर्नुस