वरिष्ठ प्रहरी नायब निरीक्षक चन्द र सहायक निरीक्षक भट्ट ‘पुलिस अफ द मन्थ’ घोषित
धनगढी: वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) लोकेन्द्रबहादुर चन्द र प्रहरी सहायक निरीक्षक (असई) रमेशराज भट्टलाई मंसिर महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित गरिएको छ। चन्द जिल्ला प्रहरी कार्यालय कैलालीमा र भट्ट प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत छन्।
चन्दलाई बर्दियाको राजापुरमा दिनदहाडै गोली प्रहार गरेर युवकको हत्या गर्ने घटनामा उत्कृष्ट अनुसन्धान गरेको भन्दै सम्मान गरिएको हो। उनले राजापुर नगरपालिका–४, राजापुर गाउँमा २८ वर्षीय निरज चौधरीको हत्या गरेको मुख्य अभियुक्तलाई कैलालीबाट पक्राउ गरेका थिए। गत २५ मंसिरमा कैलारी गाउँपालिका–५, नयाँ बयसपुरमा लुकिछिपी बसेको अवस्थामा हत्यामा प्रयोग भएको पेस्तोल र दुई राउण्ड गोलीसहित मुख्य अभियुक्त ५० वर्षीय महाबिर चौधरीलाई पक्राउ गरेका थिए।
भट्टलाई अपराध अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको हो। प्रदेश प्रहरी कार्यालयका अनुसार, दुवै प्रहरी अधिकारीले नेपाल प्रहरी संगठनले सुम्पिएको जिम्मेवारीलाई लगनशीलतापूर्वक पूरा गर्दै आम नागरिकलाई सुरक्षाको अनुभूति गराएका छन्। यसले प्रहरी संगठनको गरिमा र विश्वासमा योगदान पुर्याएको भन्दै दुवैलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो।