सुदूर नेपाललाई विश्वसँग जोड्दै

समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्ने समय नजिक

२०८२ पुष १२, ०५:१४ खबर संवाददाता

काठमाण्डौ‌‌‍‍‍‍‍: फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा चुनावका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने समय भोलि र पर्सि रहेको छ। निर्वाचन आयोगले समानुपातिक भाग लिन दर्ता भएका सबै राजनीतिक दलहरूलाई विधि र प्रक्रिया अनुसार आवश्यक प्रमाण कागजातसहित उम्मेदवारको बन्दसूची तयार गरी तोकिएको समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्न अनुरोध गरेको छ।

समानुपातिक चुनाव प्रक्रिया सहज बनाउन आयोगले केन्द्रीय कार्यालय परिसरमै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले सबै सम्बन्धित पक्षलाई कानूनी व्यवस्था र समय सीमाको पालना गर्न अनुरोध गरेको विज्ञप्ति मार्फत जानकारी दिएका छन्।

यद्यपि, समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्ने समय नजिक आउँदै गर्दा ठूला दलहरू चुनाव हुने–नहुने विवादमा अल्झिएका छन्। यसैबीच, चुनावको वातावरणबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेतासँग बैठक गर्दै छिन्।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने उक्त छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस