दुई मोटरेबल पक्की पुल निर्माणको काम पाँच वर्षदेखि अलपत्र
कैलालीः कैलालीको गौरीगङ्गा नगरपालिकामा निर्माणाधीन दुईवटा मोटरेबल पक्की पुल निर्माणको काम पाँच वर्षदेखि अलपत्र परेको छ।
सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा निर्माण सुरु गरिएका दुई पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण पाँच वर्षदेखि अलपत्र परेका हुन्। गौरीगङ्गा–५ र ८ बालुवाटार जोड्ने कटैनी खोला तथा वडा नम्बर १ र २ जोड्ने चौमाला खोलामा निर्माणाधीन दुईवटा मोटरेबल पक्की पुलको काम अलपत्र परेको हो।
विसं २०७७ असार ३१ गते पूर्वाधार विकास कार्यालयले वाइपी कन्स्ट्रक्सन काठमाडौँसँग तीन वर्षमा सम्पन्न गर्ने गरी दुई मोटरेबल पक्की पुल निर्माणका लागि सम्झौता गरेको थियो। कटैनी खोलाको पुलका लागि रु पाँच करोड २८ लाख र चौमाला खोलाको पुल निर्माणका लागि रु सात करोड २३ लाख ८० हजारको लागतमा सम्झौता गरिएको थियो।
ठेकेदार कम्पनीले हालसम्म कटैनी पुलका लागि रु तीन करोड ८४ लाख र चौमाला पुलका लागि रु दुई करोड ५९ लाख भुक्तानी लिइसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। तीन वर्षमा सम्पन्न गर्नुपर्ने भए पनि पाँच वर्ष बितिसक्दा पनि पुल निर्माणको काम अघि बढ्न नसेपछि ठेकेदार कम्पनीले म्याद थप्दै आएको जनाइएको छ।
पूर्वाधार विकास कार्यालयका इन्जिनियर सूर्यप्रकाश जोशीका अनुसार कटैनी खोलाको पुलका लागि २०८२ साल मङ्सिरसम्म र चौमाला पुलका लागि २०८३ साल असारसम्म म्याद थपिएको भए पनि हालसम्म निर्माण कार्यले गति लिन सकेको छैन्। चौमाला खोलामा निर्माणाधीन पुलको समयावधि बाँकी रहेको भए पनि कटैनी खोलाको पुलको समयावधि मङ्सिरमा समाप्त भएपछि ठेकेदार कम्पनीले पुनः म्याद थपका लागि पूर्वाधार विकास कार्यालयमा निवेदन दिएको जोशीको भनाइ छ।
पुल निर्माण नहुँदा वर्षायाममा खोला तर्न स्थानीयवासीले समस्या झेल्दै आउनु परेको स्थानीय सागर थापाले बताउनुभयो । खोलामा पानी बढेपछि स्थानीयले काठको अस्थायी पुल बनाएर जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।
उक्त दुई पुल नबन्दा वर्षायाममा तीन किलोमिटर वैकल्पिक बाटो प्रयोग गरेर नगरपालिका पुग्नुपर्ने सेवाग्राहीको बाध्यता रहेको थापाले बताए। प्रदेश सरकार र निर्माण कम्पनीको लापरबाहीले पुल अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राखी कारबाही गर्नुपर्ने स्थानीयको माग छ।