सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा झन्डै एक करोड लागतमा निर्मित फोहोरको सूक्ष्म वर्गीकरण केन्द्र प्रयोगविहीन

२०८२ पुष १७, ०३:२८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिकामा झन्डै एक करोड लागतमा निर्माण गरेको फोहोरको सूक्ष्म वर्गीकरण केन्द्र प्रयोगविहीन अवस्थामा पुगेको छ ।  

एकातिर डम्पिङ साइट निर्माण गर्न नसकेको भीमदत्त नगरपालिकाले तीन वर्षपहिले वडा नं. ४ महेन्द्रनगरस्थित सालघारीमा निर्माण गरिएको फोहोरको सूक्ष्म वर्गीकरण केन्द्रसमेत प्रयोगमा ल्याउन सकेको छैन । १९ वडा रहेका भीमदत्तमा हाल वडा नम्बर ४ र १८ को बजार क्षेत्र तथा वडा नम्बर ६, ९, १० र ११ वडाका स्थानीयको घरबाट नगरपालिकाले फोहोर सङ्कलन गर्दै आएको छ । घर तथा पसलबाट फोहोर उठाउनका लागि लागत बढी लाग्ने तथा आम्दानी नहुँदा राजस्व घाटा सहनुपर्ने बाध्यतासमेत रहेको पालिकाको वन वातावरण फोहोरमैला तथा विपत् व्यवस्थापन शाखाका प्रमुख सविन रावलले बताए।  

नगरपालिकाले फोहोरमा लगानी अत्यधिक र प्रयोग न्यून भएपछि फोहोरको वर्गीकरण तथा राजस्व वृद्धिसमेत गर्ने उद्देश्यले विसं २०७९ मा पालिका भवनको ठिक पछाडि झन्डै ८० लाखको लागतमा सूक्ष्म वर्गीकरण केन्द्र निर्माण गरेको थियो । 

युएनडिपीको प्राविधिक सहयोगमा निड्स नेपालले उक्त भवनमा फोहोर वर्गीकरण गर्ने उद्देश्यले झन्डै २० लाखका दुई वटा उपकरणसमेत खरिद गरेको थियो । सूक्ष्म वर्गीकरण केन्द्र निर्माणको काम सकिएपछि नगरपालिकाले भीमदत्तका दुई हजार स्थानीयलाई फोहोरको छुट्टाछुट्टै वर्गीकरण गर्नका लागि तालिम प्रदान गर्नुका साथै कम्पोस्ट मल बनाउन प्रयोगमा आउने भाँडा कम्पोस्ट बिनसमेत वितरण गरिएको थियो ।  


 

कमेन्ट लोड गर्नुस