राजनीतिलाई पेसा बनाउँदा रमेश लेखक बनिन्छ!
नारायण वैद्यः इन्जिनियर, डाक्टर, वकिल वा पिएचडीधारी हुँ भनेर गर्वका साथ नामअगाडि उपाधि लेख्नेहरू आफैंले दशकौँ लगानी गरेर पढेको विषय छाडेर राजनीतिलाई नै पेसा बनाउने प्रवृत्ति बढ्दो छ। समस्या पढेलेखेका मानिस राजनीति आए भन्नेमा होइन, राजनीति नै क्यारियर बनाउँदा निर्णय, नैतिकता र मानवीय संवेदनामा पर्न जाने असरमा हो।
राजनीतिलाई पेसा बनाउँदा कस्तो हविगत हुन सक्छ भन्ने ताजा उदाहरणका रूपमा रमेश लेखकलाई लिन सकिन्छ। सम्पन्न पारिवारिक पृष्ठभूमिका सफल वकिल रहेका उनले वकालत छाडेर राजनीतिलाई पेसा बनाए। स्वाभाविक रूपमा, जहाँ पेसा हुन्छ, त्यहीँ वृत्ति–विकास खोजिन्छ। वकालतमा भए वकालतमै उकासिन्थे; राजनीतिमा गएपछि राजनीतिक उकासो खोजियो। यही उकासोको दौडमा सम्झौता, चाकरी र म्यानुपुलेसनले ठाउँ पायो र अन्ततः नकारात्मक इतिहास निर्माण भयो।
यदि उनी क्यारियर–पोलिटिसियन नभई राजनीतिलाई विशुद्ध समाजसेवा मानेर आएका हुन्थे भने भदौ २३ गतेका घटनामा निर्णय फरक हुन सक्थ्यो। कुर्सी र पद गुम्ने डर नभएको अवस्थामा “गोली नचलाऊ” भन्ने आदेश दिन सक्ने आत्मबल त्यहीँबाट आउँथ्यो। संसद भवन जल्यो भने कानुनी प्रक्रियाबाट कारबाही हुन्थ्यो; निर्दोष बालकहरूको ज्यान बच्थ्यो; लोकतन्त्रको लाज जोगिन्थ्यो। तर पेसामा धक्का लाग्ने भयले अन्धाधुन्ध गोली चलाइयो। ज्यान लिएर के जोगियो? भोलिपल्ट २४ गते त सबै जल्यो।
कञ्चनपुरका नारायण वैद्यले सामाजिक सञ्जालमा राखेको यो टिप्पणीमा एक जना कोप्स कोप्स नाम गरेका फेसबुक प्रयोगकर्ताले लेखेका छन्, 'यसले एउटा गहिरो प्रश्न उठाउँछ—आफूले अध्ययन गरेको विषयसँग सम्बन्धित क्षेत्रमा काम गर्नु व्यक्तिको पहिलो प्राथमिकता हुनुपर्दैन? 'पढेलेखेका राजनीति आउनुपर्छ' भन्ने नारा ठीक छ, तर त्यसको अर्थ वर्षौँ पढेको विषय छाडेर सिधै राजनीतिलाई भविष्य बनाउनु होइन। सही बाटो के हो भने—आफ्नो अध्ययनको क्षेत्रमा लामो समय कुशलतापूर्वक काम गर्ने, अनुभव सँगाल्ने, समस्या–समाधानको गहिरो समझ बनाउने र नेतृत्व क्षमता प्रमाणित गरेका केही व्यक्तिहरू राजनीति आउनु। उनीहरू आए राजनीति बलियो हुन्छ।'
ती प्रयोगकर्ताले खगाडि थप लेखेका छन्, 'पछिल्लो समय उमेरका नाममा निषेध, युवाकै बहुमत, ३०–४० वर्षको सीमा, जेन–जीको उल्लेख्य सहभागिता (संसद र मन्त्रिमण्डलमै) र भर्खर कलेज जाँदै गरेका व्यक्तिहरूले राजनीतिलाई मात्र भविष्य देख्ने प्रवृत्ति गम्भीर बनेको छ। राजनीति उमेर वा डिग्रीको खेल होइन; क्षमता, अनुभव, विवेक र उत्तरदायित्वको अभ्यास हो।'
'राजनीति पेसा र पदका लागि होइन। नेतृत्वदायी क्षमता, सम्बन्धित विषयमा निपूर्णता र विविध क्षेत्र–वर्ग–समुदाय तथा उमेर–पुस्ताको समतामूलक सहभागिताका आधारमा राजनीति चल्नुपर्छ। अन्यथा, कुर्सी बचाउने निर्णयले मान्छे गुम्ने क्रम दोहोरिइरहन्छ—र लोकतन्त्र हरेक पटक घाइते बन्छ,' टिप्पणीमा उल्लेख छ।