सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा कुखुरा फर्ममा आगलागी

२०८२ पुष १९, १२:१२ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–६ मा रहेको कुखुरा फर्ममा आगलागी हुँदा करिब ११ लाख रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीय व्यवसायी रमेश औजीको लक्ष्मी पशुपन्छी फर्मका दुई वटा खोरमा शुक्रबार राति करिब १ बजे आगलागी भएको हो।

आगलागीबाट फर्म पूर्ण रूपमा जलेर नष्ट भएको छ। खोरभित्र पालिएका एक हजार एक सय कुखुराका चल्ला, २० कट्टा चारो तथा अन्य सामग्री जलेर नष्ट भएको व्यवसायी औजीले जानकारी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार विद्युत् तार सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। स्थानीयवासी, नेपाल प्रहरी र दमकलको सहयोगमा बिहान करिब ४ः३० बजे आगो नियन्त्रणमा लिइएको उनले बताए।

प्रहरीका अनुसार कुखुराका चल्लाको हेरचाहका लागि खोरमै सुतिरहेका राहुल औजी आगलागीको समयमा भागेर ज्यान जोगाउन सफल भएका थिए। सुतिरहेको अवस्थामा माथिबाट केही खसेपछि आगो लागेको थाहा पाएर उनी बाहिर निस्किएको बताइएको छ।

प्रहरीले आगलागीबाट करिब ११ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस