सुदूर नेपाललाई विश्वसँग जोड्दै

जाडोयाममा अत्यधिक चिसोबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

२०८२ पुष १९, ०४:३५ खबर संवाददाता

काठमाडौँः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोयामको समयमा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अत्यधिक चिसोमा अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेको छ।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा जाडोयाममा यी समूहका व्यक्तिहरू चिसोका कारण बढी जोखिममा पर्ने भएकाले विशेष सावधानी अपनाउन अनुरोध गरिएको हो। चिसोबाट हुनसक्ने रोग तथा स्वास्थ्य समस्या न्यूनिकरण गर्न धुवाँ–धुलोबाट जोगिन, न्यानो लुगा लगाउन र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ।

त्यसैगरी, पोषणयुक्त सन्तुलित भोजन, भिटामिन–सी पर्याप्त मात्रामा भएका ताजा मौसमी फलफूल तथा सागपात खान र प्रशस्त मात्रामा झोल पदार्थ सेवन गर्न पनि मन्त्रालयले सुझाव दिएको छ।

मन्त्रालयका अनुसार जाडोयाम सुरु भएसँगै तापक्रम घट्दा विभिन्न क्षेत्रमा शीतलहर, हुस्सु, कुहिरो तथा हिमपातका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको छ। यस समयमा रुघाखोकी, ज्वरो, दम बढ्ने, सास फेर्न गाह्रो हुने तथा शीताङ्ग (हाइपोथर्मिया) का लक्षण भएका बिरामीको संख्या बढ्ने गरेको छ।

पछिल्ला वर्षहरूमा जाडोयामसँगै वायु प्रदूषण बढ्दै गएकाले मुटु, फोक्सो, मस्तिष्कलगायत अंगहरूमा गम्भीर असर पर्ने, दम र क्यान्सरजस्ता दीर्घ रोगको जोखिम तथा मृत्युदरसमेत बढ्ने गरेको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले चिसोका कारण देखिने समस्या रहिरहे वा थप जटिलता देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ। साथै, आगो तथा ताप्ने उपकरण खुला र सुरक्षित स्थानमा मात्र प्रयोग गर्न, सुत्ने बेलामा निभाउन, ज्वलनशील सामग्री टाढा राख्न र गिजर बाथरुम बाहिर जडान गर्न समेत अनुरोध गरेको छ।

कमेन्ट लोड गर्नुस