कञ्चनपुरबाट करिब १४ लाख बराबरका अवैध सामान बरामद
कञ्चनपुर: कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट भारतबाट अवैधरूपमा भन्सार छलि गरी ल्याइएका झण्डै रु. १३ लाख ६५ हजार मूल्य बराबरका सामान प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले हिजो भिमदत्त नगरपालिका–२ भासी, वडा नं. ४ बसपार्क, वडा नं. १० जिमुवा र वडा नं. ११ चौकीसत्ताबाट ती सामानहरू वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
बरामद गरिएका सामानहरूमा विभिन्न किसिमका कपडा, सुर्ति, बिडी, गुट्खा, मिक्स्चर, रोल लाइट, प्लाष्टिक माला तथा २ वटा घोडा रहेका छन्। प्रारम्भिक अनुमान अनुसार ती सामानहरूको मूल्य रु. १३,६५,१९८ बराबर रहेको प्रहरीले जनाएको छ।
बरामद सामग्रीहरू आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।