जोशी र मल्ल प्रदेशसभा त्यागेर संघको चुनाव लड्ने दौडमा
धनगढी: सुदूरपश्चिम प्रदेश सभाका दुई जना सांसद प्रदेशसभा त्यागेर प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार हुने तयारीमा जुटेका छन्। स्वतन्त्रबाट जितेका डडेल्धुराका डाक्टर ताराप्रसाद जोशी र एमालेबाट निर्वाचित डोटीका चक्रबहादुर मल्ल प्रदेश सभा सदस्यको पद त्यागेर उम्मेदवारी संघमा उम्मेदवारी दिने तयारीमा जुटेका हुन्।
डोटी प्रदेश सभा निर्वाचन क्षेत्र (१) बाट निर्वाचित मल्ल डोटीबाटै प्रतिनिधि सभाको उम्मेदवार हुन सिफारिस भएका छन्। पार्टीले टिकट दियो भने उम्मेदवार बन्ने उनले बताएका छन्। 'पार्टीले चुनाव लड्न टिकट दियो भने मैले चुनाव लड्ने तयारी गरेको छु। चुनावी तयारीका लागि पार्टी पंक्तिमा छलफल गरिरहेको छु,' मल्लले भने।
डडेल्धुरा प्रदेश निर्वाचन क्षेत्र नम्बर (२) बाट स्वतन्त्र निर्वाचित प्रदेश सांसद डाक्टर ताराप्रसाद जोशी हाल राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएका छन्। उज्यालो नेपाल पार्टी हुँदै रास्वपामा पुगेका सांसद जोशीले प्रतिनिधि सभा सदस्यमा उठ्ने बारे छलफल र परामर्श गरिरहेको बताएका छन्। 'चुनावमा उठ्ने विषयमा म अहिले निष्कर्षमा पुगेको छैन। छलफल र परामर्शमै छु,' उनले भने, 'चुनावमा उठ्ने बारे केही दिनभित्रै टुङ्गो लाग्छ।'