सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानीय प्रशासनद्वारा वीरगञ्जमा कर्फ्यू

२०८२ पुष २१, ०७:०१ खबर संवाददाता

काठमाडौँः धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले वीरगञ्जमा कर्फ्यू आदेश जारी गरेको छ।

सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि वीरगञ्जका संवेदनशील क्षेत्रमा कर्फ्यू आदेश जारी भएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए।

प्रजिअ दाहालका अनुसार वीरगञ्ज महानगरपालिका क्षेत्र अन्तर्गत पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको हो।

यसअघि प्रशासनले सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो।

धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायले आइतबारदेखि वीरगञ्जमा लगातार प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका कारण वीरगञ्ज अशान्त बन्दै आएको छ।

कमेन्ट लोड गर्नुस