कञ्चनपुर–२ मा एमाले उम्मेदवार छनोट: चन्द, धामी र जोशी सिफारिस
धनगढीः आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले कञ्चनपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ ले निर्वाचन प्रक्रियामार्फत उम्मेदवार सिफारिस गरेको छ।
पार्टी केन्द्रको सर्कुलरअनुसार २ पुरुष र १ महिला उम्मेदवार सिफारिस गर्नुपर्ने भए पनि सहमति जुट्न नसकेपछि क्षेत्रीय कमिटीले निर्वाचनको बाटो अपनाएको हो। उम्मेदवारका लागि पुरुषतर्फ पूर्व सांसद नरबहादुर धामी, पूर्व बेदकोट नगर प्रमुख अशोककुमार चन्द र राष्ट्रिय युवा सङ्घका पूर्व केन्द्रीय अध्यक्ष बचनबहादुर सिंहले दाबी गरेका थिए। महिलातर्फ नेतृ पार्वती जोशी र पार्टी जिल्ला अध्यक्ष लक्ष्मी बुढाको दाबी थियो।
शनिबार झलारीमा बसेको एमाले क्षेत्र नम्बर २ को बैठकले सहमतिमा उम्मेदवार छान्न नसकेपछि आइतबार आन्तरिक निर्वाचन गरिएको थियो। निर्वाचनबाट प्रतिनिधिसभा सदस्यका लागि अशोक कुमार चन्दले सर्वाधिक ६१ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरे। नरबहादुर धामीले ५७ मत ल्याउँदै दोस्रो स्थान पाए भने महिलातर्फ पार्वती जोशीले ४४ मतसहित विजय हासिल गरेकी हुन्।
खुलातर्फ बचनबहादुर सिंहले ५० मत र महिलातर्फ लक्ष्मी बुढाले ४१ मत प्राप्त गरेका थिए। कुल ९५ मतदाता मध्ये ८४ मत खसेको थियो।
अशोक कुमार चन्द २०७४ सालमा एमालेबाट बेदकोट नगरपालिकाको नगर प्रमुख निर्वाचित भएका थिए। नरबहादुर धामी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भई २०७९ मा पराजित भएका नेता हुन्। बचनबहादुर सिंह भने २०७९ मा प्रदेशसभा निर्वाचनमा उम्मेदवार भई पराजित भएका थिए।
त्यस्तै, २०७९ मा बेदकोट नगरपालिकाको उपमेयर पदमा पराजित भएकी पार्वती जोशीले यसपटकको आन्तरिक निर्वाचनमा पार्टी जिल्ला अध्यक्ष लक्ष्मी बुढालाई पराजित गर्दै प्रतिनिधिसभा उम्मेदवारका रूपमा सिफारिस हुन सफल भएकी छन्।