धनगढीमा दोस्रो चैतन्य विद्यार्थी महोत्सव सुरु, पुस २९ सम्म विविध कार्यक्रम हुने
धनगढीः विज्ञान–प्रविधि, खेलकुद, कला–संस्कृति, सृजनशीलता र मनोरञ्जनको समन्वयमार्फत ज्ञानको जागरण, संस्कृतिको सम्मान र नवप्रवर्तनको प्रवाह फैलाउने उद्देश्यसहित दोस्रो चैतन्य विद्यार्थी महोत्सव २०८२ आजदेखि धनगढीमा सुरु भएको छ। महोत्सवको औपचारिक उद्घाटन प्रदेश प्रमुख नजिर मियाँले गरेका हुन्।
पुस २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने महोत्सवमा विद्यार्थीहरूको शैक्षिक, बौद्धिक, वैज्ञानिक, सिर्जनशील तथा सांस्कृतिक प्रतिभा उजागर गर्ने विभिन्न कार्यक्रमहरू समावेश गरिएका छन्। विज्ञान प्रदर्शनी, नवप्रवर्तनात्मक प्रस्तुति, खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा विविध सिर्जनात्मक गतिविधिहरू महोत्सवका प्रमुख आकर्षण रहेका छन्।
उद्घाटन समारोहमा प्रदेशसभा सदस्य धर्मराज पाठक र धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकलाकुमारी राना विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। साथै कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डाक्टर लोकबहादुर बिष्ट पनि विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रम चैतन्य पाठशालाका अभिभावक शिक्षक संघका अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा सुरु भएको हो। समारोहमा चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले पाठशाला आविष्कार र नवप्रवर्तनमा आधारित शिक्षालाई आत्मसात गर्दै अघि बढिरहेको उल्लेख गरेका छन्।
विद्यार्थीहरूको बृहत्तर सिकाइका अवसर सृजना गर्ने उद्देश्यले आयोजना गरिएको यो महोत्सवले पाठशालामा अध्ययनरत विद्यार्थीहरूको सीप, क्षमता र आत्मविश्वास अभिवृद्धि गर्ने महत्वपूर्ण मञ्चका रूपमा भूमिका खेल्ने अपेक्षा गरिएको छ।
महोत्सवको अवसरमा चैतन्य पाठशालाले सामाजिक, सेवा, सुरक्षा तथा शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएका विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरेको छ।
धनगढी-५ शिवनगरमा अवस्थित चैतन्य पाठशालले गत वर्षदेखि विद्यार्थी महोत्सव गर्न थालेको हो। विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई ध्यानमा राखेर महोत्सव आयोजना गरिन थालेको बताइएको छ। महोत्सवमा चैतन्य पाठशालासहित अन्य विद्यालयका विद्यार्थीहरूको समेत सहभागिता रहने विद्यालयले जनाएको छ।