प्रहरीप्रति नागरिकको विश्वास छ, शान्तिपूर्ण निर्वाचन गराउँछौँः प्रहरी प्रवक्ता काफ्ले
काठमाडौं: नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन पूर्ण तयारी अवस्थामा रहेको जनाएको छ। निर्वाचन सुरक्षाबारे उठेका विभिन्न प्रश्नप्रति प्रतिक्रिया दिँदै केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले मुलुकको समग्र सुरक्षा अवस्था मजबुत रहेको स्पष्ट पार्नुभएको छ।
प्रहरीका सबै युनिट निर्वाचन लक्षित गतिविधिमा परिचालित भइसकेका छन्। केन्द्रदेखि जिल्लासम्म निर्वाचन सेल गठन गरी गस्ती, पेट्रोलिङ, पिकेट र चेकिङलाई तीव्र बनाइएको छ। सीमा क्षेत्रमा घुसपैठ र आपराधिक गतिविधि नियन्त्रणका लागि नियमित निगरानी भइरहेको प्रहरीले जनाएको छ।
जेनजी आन्दोलनपछि लुटिएका हतियार र फरार कैदीबन्दी पक्राउ गर्न विशेष अभियान सञ्चालन गरिएको र अधिकांश हातहतियार तथा अपराधी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ। आन्दोलनका क्रममा क्षतिग्रस्त ४५९ प्रहरी युनिटमध्ये ४४९ पुनःनिर्माण भई सञ्चालनमा आइसकेका छन्।
प्रहरीको मनोबल उच्च रहेको उल्लेख गर्दै प्रवक्ता काफ्लेले नागरिकको सहयोग र विश्वासले संगठन अझ सशक्त बनेको बताउनुभयो। निर्वाचनका लागि करिब ७७ हजार प्रहरी र एक लाख ३३ हजार ९८० म्यादी प्रहरी परिचालन गरिने तयारी छ।
प्रहरीका अनुसार देशभरका मतदानस्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको छ। मतदाता, उम्मेदवार र निर्वाचन कर्मचारीको सुरक्षाका लागि नेपाल प्रहरी पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ।