ऊर्जा मन्त्री कुलमान घिसिङले दिए राजीनामा
काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पत्र पेस गरेका हुन्।
भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्दै आएका घिसिङ गत भदौ ३० गते मन्त्री नियुक्त भएका थिए।
यस अवसरमा प्रधानमन्त्री कार्कीले साढे तीन महिनाको अवधिमा तीनवटै महत्वपूर्ण मन्त्रालयको नेतृत्व कुशलतापूर्वक सम्हालेकोमा घिसिङलाई बधाई तथा धन्यवाद दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
“निकै प्रतिकूल अवस्थामा तपाईं यो सरकारमा सहभागी भएर देशका लागि उल्लेखनीय योगदान दिन सफल हुनुभयो,” प्रधानमन्त्री कार्कीले भनिन्, “रातदिन नभनी काम गर्नुभयो। देशका विभिन्न भागमा पुग्नुभयो। विपद्का बेला सक्रिय भूमिका निर्वाह गर्नुभयो र विपद्ग्रस्त क्षेत्रमा स्वयं पुगेर खटिनुभयो। विकास निर्माणमा देखिएका बेथितिविरुद्ध कठोर कदम चाल्नुभयो। यी कामहरू देशले सम्झनेछ र जनताले मूल्याङ्कन गर्नेछन्।”
मन्त्री घिसिङले अन्तरिम अवधिमा काम गर्ने अवसर प्रदान गरेकोमा प्रधानमन्त्रीप्रति आभार व्यक्त गरे।
घिसिङ संरक्षक रहेको उज्यालो पार्टी नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीबीच पार्टी एकतासम्बन्धी समझदारी भइसकेको छ। सो समझदारीअनुसार घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीको उपाध्यक्ष बन्ने तय भएको छ।