सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय सभा सदस्यकी एमाले महिला उम्मेदवार भण्डारीविरुद्ध बस्नेतको उजुरी

२०८२ पुष २४, ०६:३२ नारायण अवस्थी

धनगढीः राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत नेकपा एमालेकी महिला उम्मेदवार लिलाकुमारी भण्डारीविरुद्ध उजुरी दर्ता भएको छ। नेपाली कम्युनिस्ट पार्टीकी महिला उम्मेदवार रोजी बस्नेतले बिहीवार निर्वाचन आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा उजुरी दर्ता गराएकी हुन्।

निर्वाचन आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले प्रकाशित गरेको सूचनाअनुसार बस्नेतले लिलाकुमारी भण्डारीको नाम समानुपातिक बन्द सूचीमा रहेको दाबी गर्दै उजुरी दिएकी हुन्। उनले भण्डारीको उम्मेदवारी प्रचलित कानुन र निर्वाचन व्यवस्थाविपरीत रहेको जिकिर गरेकी छन्।

उजुरीमा राष्ट्रिय सभा सदस्य निर्वाचनको कानुनी प्रावधानअनुसार उम्मेदवार चयन प्रक्रियामाथि प्रश्न उठाउँदै आवश्यक छानबिन तथा कारबाहीको माग गरिएको उल्लेख छ। निर्वाचन आयोगले उजुरी दर्ता भइसकेको जनाउँदै सम्बन्धित पक्षलाई जानकारी गराई आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ।

निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र कानुनसम्मत बनाउन सबै उजुरीहरूलाई गम्भीरतापूर्वक अध्ययन गरी निर्णय लिने प्रतिबद्धता व्यक्त गरेको छ। उजुरी खण्डन हुने सबुत प्रमाणसहित शुक्रवार दिनको दुई बजे निर्वाचन कार्यालयमा उपस्थित हुन आयोगले भण्डारीलाई आग्रह गरेको छ।

भण्डारी काङ्ग्रेस-एमाले गठबन्धनकी साझा उम्मेदवार हुन भने बस्नेत नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार हुन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस