कैलाली बहुमुखी क्याम्पसमा प्रदेश स्तरिय अनुसन्धान पद्धति तालिम आयोजना
धनगढीः कैलाली बहुमुखी क्याम्पसमा विश्वविद्यालयका प्राध्यापकहरूका लागि अनुसन्धान पद्धति तालिम आयोजना गरिएको छ। सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेशको आर्थिक सहयोगमा आयोजित उक्त तालिम चार दिनसम्म सञ्चालन हुने क्याम्पसले जनाएको छ।
प्राध्यापकहरूको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा अनुसन्धान विधि, डाटा सङ्कलन तथा विश्लेषण, अनुसन्धान प्रतिवेदन लेखनलगायत विषयमा सहजीकरण गरिने कैलाली बहुमुखी क्याम्पसका तालिम एकाइ संयोजक सहप्राध्यापक डा. महेन्द्रराज जोशीले बताए। तालिममा सुदूरपश्चिममा रहेका विभिन्न विश्वविद्यालय तहमा अध्यापनरत प्राध्यापकहरूको सहभागिता रहेको छ। विश्वविद्यालय र प्राध्यापकहरू ज्ञान उत्पादनका स्रोत भएकाले यस्ता क्षमता अभिवृद्धिका तालिमले शिक्षा, अनुसन्धान र सामाजिक विकासलाई जोड्ने उनले बताए।
‘हामीसँग भएको ज्ञानका आधारमा विद्यार्थीहरूलाई पढाउने र नयाँ ज्ञान सिर्जना गर्ने हाम्रो दोहोरो जिम्मेवारी हुन्छ। ज्ञान निर्माणका लागि अनुसन्धान आवश्यक छ र अनुसन्धान पद्धतिमा दक्षता हासिल गर्ने हाम्रो उद्देश्य हो,’ उनले भने।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव डा. हेमराज रेग्मीले कानुनी र संवैधानिक रूपमा प्रदेश सरकारलाई उच्च शिक्षा क्षेत्रमा लगानी गर्ने सीमित अधिकार भए पनि शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन यस क्षेत्रमा संलग्न व्यक्तिहरूको क्षमता अभिवृद्धिका लागि विश्वविद्यालय र क्याम्पसहरूसँग सहकार्य प्रारम्भ गरिरहेको बताए।
‘उच्च शिक्षाको व्यवस्थापन संघीय सरकारले गर्दछ, यद्यपि क्षमता अभिवृद्धिसँग जोडिएका कार्यक्रमहरूका निम्ति हामीले सहकार्य गरिरहेका छौँ,’ उनले भने, ‘विश्वविद्यालय र क्याम्पसहरूसँग हाम्रो सहकार्य कमजोर छ किनकि संवैधानिक रूपमा उच्च शिक्षामा धेरै लगानी गर्ने कानुनी अधिकार प्रदेश सरकारसँग छैन। तर पनि प्राध्यापकहरूसँग ज्ञान बाँड्न हामीले यो कार्यक्रम आयोजना गरेका हौँ।’
शिक्षा क्षेत्रमा पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले झण्डै दुई अर्ब बजेट विनियोजन गरेको उनले जानकारी दिए। प्राविधिक शिक्षाको प्रवर्द्धन गर्न टिकापुर प्राविधिक विश्वविद्यालय स्थापनाका लागि प्रदेश सरकारले संसद्मा विधेयक दर्ता गराएको पनि उनले जानकारी दिए।
यस्तै, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. हेमराज पन्तले नयाँ ज्ञान उत्पादनका लागि निर्धारित अनुसन्धान पद्धतिको अवलम्बन गर्नुपर्ने उल्लेख गरे। स्थानीय समस्या समाधान र सामाजिक विकासका लागि प्रदेश र स्थानीय सरकारले आवश्यक लगानीसहित विश्वविद्यालयलाई अवगत गराउन आग्रह गरे। उनले विश्वविद्यालयका प्राध्यापकहरूले ६० प्रतिशत प्रयोगात्मक र ४० प्रतिशत सैद्धान्तिक क्षमता निर्माणमा जोड दिए।
तालिमले शिक्षकहरूलाई गुणस्तरीय अनुसन्धान गर्न सक्षम बनाउने र उच्च शिक्षामा अनुसन्धान संस्कृतिको विकासमा टेवा पुर्याउने कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक डा. लोकबहादुर बिष्टले बताए।
कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका अनुसन्धान निर्देशक सहप्राध्यापक डा.दमन बहादुर चलाउने, सामाजिक विकास मन्त्रालयका उपसचिव जयदेव महरा लगायत विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुको सहभागिता रहेको थियो।