दलित सशक्तीकरण ऐन कार्यान्वयनमा लैजान सांसदहरूको जोड
धनगढी: सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्की सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत ‘दलित सशक्तीकरण ऐन २०७८ संशोधन विधेयक’ यथासिघ्र पारित हुनुपर्ने बताएका छन् ।
राष्ट्रिय दलित नेटवर्क नेपालले सोमबार धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत ‘दलित सशक्तीकरण ऐन २०७८ संशोधन विधेयक’ सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘ऐन छिटो पारित गनुपर्छ । यसका लागि मैले गर्ने पहल म गर्छु । दलित विकास समितिमा योग्यताको सवाल जुन छ त्यसमा साधारण लेखपढ भनेर राख्दा हुन्छ।’
उनले ऐन संशोधन गर्नु नै परे छिट्टै संशोधन गरेर पारित गर्नुपर्ने आवाज उठाउँदै आएको बताउँदै ऐन पारित गरेर कार्यान्वयमा जानुपर्ने बताए । कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य लक्ष्मी विकले ऐनको दफा ३,५ र ९ मा संशोधन प्रस्ताव राखेको बताइन् । उनले संशोधन सहित ऐन पास हुनुपर्नेमा जोड दिइन् ।
उनले एउटै प्रकृतिको युवा परिषद्को ऐन पारित भएर कार्यान्वयनमा गएको बताउँदै दलित सशक्तीकरण ऐनलाई कार्यान्वयनबाट रोक्न अनेक जालझेल भएको बताइन् । यसले यसका बारेमा सदनमा आफूले आवाज उठाउँदै आएको र फेरि पनि आवाज उठाउने प्रतिवद्धता व्यक्त गरिन ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य ललिता सुनारले दलित सशक्तीकरण ऐनका बारेमा सदनमा आवाज उठाउने बताउँदै ऐनमा भएको निर्देशक समिति हटाउनुपर्ने बताइन् । त्यस्तै प्रदेशसभा सदस्य ईन्दीरा गिरीले ऐन पारित गर्नका लागि सक्दो सहयोग गर्ने बताइन् । उनले कार्यक्रममा आएका सुझाव सदनमा पुर्याइने बताइन् ।
पूर्वराज्यमन्त्री टेकबहादुर रैकाले बिगतदेखि नै ऐन कार्यान्वयनमा आउने पर्ने आवाज उठाउँदै आएको र बताउँदै यसलाई पारित गरेर कार्यान्वयनमा लैजानुपर्ने बताए । राष्ट्रिय दलित नेटवर्कका अध्यक्ष मोहन ओडको अध्यक्षमा भएको कार्यक्रममा सहभागीहरुले संशोधनसहित ऐन पारित गर्नुपर्नेमा जोड दिएका थिए ।