सुदूर नेपाललाई विश्वसँग जोड्दै

घरदैलोमै गएर उत्कृष्ट किसानलाई सम्मान गर्दै सुदूरपश्चिमको कृषि मन्त्रालय

२०८२ पुष २८, ०५:२७ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानलाई उत्प्रेरणा दिने उद्देश्यसहित नयाँ अभ्यासको सुरुवात गरेको छ। मन्त्रालयले विभिन्न क्षेत्रका उत्कृष्ट किसानलाई घरदैलोमै पुगेर सम्मान गर्ने कार्यक्रम सुरु गरेको हो।

‘किसानबाट सम्मान लिने होइन, किसानलाई सम्मान दिनुपर्छ’ भन्ने मान्यताका साथ मन्त्रालयले उत्कृष्ट किसान सम्मान कार्यक्रम सञ्चालनमा ल्याएको जनाएको छ। शनिबारदेखि सुरु भएको यस कार्यक्रम अन्तर्गत मन्त्रालयका प्रदेश सचिव शंकर साहको नेतृत्वमा गएको टोलीले शनिबार र आइतबार कैलाली र कञ्चनपुरका सात जना उत्कृष्ट किसानलाई घरमै पुगेर खादा लगाउँदै सम्मान गरेको छ।

प्रदेश सचिव साहसहित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख चन्द्रकान्त पन्त र कृषि ज्ञान केन्द्र कैलालीका वरिष्ठ कृषि विकास अधिकृत टेकबहादुर बिष्टको टोलीले आइतबार कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुरका मौरीपालक किसान मोहनराज खनाल र लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका स्याउखेती गर्ने किसान गोकर्ण ओलीलाई सम्मान गरेको छ।

त्यसैगरी जानकी गाउँपालिका–५ पहाडीपुरका किसान नारायणप्रसाद जोशी र कञ्चनपुरको भीमदत्त नगरपालिका–१ राजीपुरस्थित स्वावलम्बी अपाङ्गता कृषक समूहकी अध्यक्ष सुन्नरादेवी साउदलाई पनि सम्मान गरिएको छ।

यसअघि शनिबार कैलालीको टीकापुर नगरपालिका–१ का भैँसीपालन गर्ने किसान दुर्गा जैसी, सोही स्थानको नैनी एग्रो फर्म एण्ड रिसर्च सेन्टरका सञ्चालक करुणाकर भट्ट तथा तरकारीखेती गर्ने किसान जयराम चौधरीलाई सम्मान गरिएको मन्त्रालयले जनाएको छ।

किसानलाई हौसला प्रदान गर्न र कृषि पेशाप्रति आकर्षण बढाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको प्रदेश सचिव शंकर साहले बताए। उनले भने, “कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका, अरू किसानका लागि प्रेरणाका स्रोत बन्नु भएका किसानलाई हामी सम्मान गर्छौँ।”

उनका अनुसार मन्त्रालयले सम्मान मात्रै नगरी किसानका समस्या बुझ्ने, अनुगमन गर्ने, आवश्यक सल्लाह दिने र समस्या समाधानमा सहजीकरण गर्ने काम पनि गर्दै आएको छ। “हामी सार्वजनिक बिदाको दिन किसानका घरमै पुगेर सम्मान गर्ने गरेका छौँ, जसले मन्त्रालयको नियमित काममा पनि बाधा पर्दैन,” उनले भने।

प्रदेश सचिव साहले कार्यक्रम हाल कैलाली र कञ्चनपुरबाट सुरु गरिएको जानकारी दिँदै विस्तारै प्रदेशका नौवटै जिल्लामा विस्तार गरिने बताए।

मन्त्रालयबाट प्राप्त सम्मानले आफूहरूको आत्मबल बढेको किसानहरूले बताएका छन्। गौरीगंगा नगरपालिका–९ शंकरपुरका मौरीपालक किसान मोहनराज खनालले यस कार्यक्रमले किसान र सरकारबीचको दूरी नजिक ल्याएको बताए।

त्यस्तै जानकी गाउँपालिका–५ पहाडीपुरका किसान नारायणप्रसाद जोशीले सम्मानबाट आफू निकै खुशी भएको बताउँदै अझ उत्साहका साथ कृषि कर्ममा लाग्ने प्रतिवद्धता जनाए। लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका स्याउखेती गर्ने किसान गोकर्ण ओलीले किसानको बारीमै आएर सम्मान गरिएको यो अभ्यास पहिलो पटक भएको उल्लेख गर्दै यसले किसानलाई थप ऊर्जा र हौसला प्रदान गर्ने बताए।

कमेन्ट लोड गर्नुस