सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा नगरस्तरीय थारू माघ महोत्सव हुँदै

 तस्बिर : अविनाश चौधरी
तस्बिर : अविनाश चौधरी
२०८२ पुष २९, १२:०१ खबर संवाददाता

धनगढी: थारू समुदायको नयाँ वर्ष माघी (माघ) पर्वको अवसरमा कैलालीमा नगरस्तरीय थारू माघ महोत्सव आयोजना गरिने भएको छ। मौलिक संस्कृति र संस्कारको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले गोदावरी नगरपालिका–८, मजगाउँस्थित थारू सङ्ग्रहालयमा महोत्सव सञ्चालन हुने भएको हो।

बरघर भलमनसा गोदावरी नगर समिति, मजगाउँ थारू सामुदायिक होमस्टे र न्यु खुटिया चारपाते युवा क्लबको संयुक्त आयोजनामा माघ १२ देखि १४ गतेसम्म महोत्सव आयोजना गरिनेछ।

महोत्सवमा स्थानीय सांस्कृतिक झाँकी प्रदर्शन, थारू कलाकारहरूको सांगीतिक तथा नृत्य प्रस्तुति, कृषि प्रदर्शनी, साथै गोदावरी नगरपालिकाका स्थायी बसोबासी थारू समुदायका राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम समावेश गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक जनकलाल चौधरीले जानकारी दिए।

उनका अनुसार विगत १६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको माघ महोत्सवले थारू लोकसंस्कृतिको संरक्षणमा योगदान पुर्‍याउँदै आएको छ भने यसले स्थानीयस्तरमा जनचेतना अभिवृद्धि गर्नसमेत सहयोग पुर्‍याएको छ।

त्यस्तै थारू कल्याणकारिणी सभाका केन्द्रीय पार्षद् माधव थारूका अनुसार माघ महोत्सवले गोदावरी नगर क्षेत्रमा सांस्कृतिक जागरण फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। हाल नगरभित्रका अधिकांश थारू गाउँमा सखिया, मघौटालगायतका परम्परागत नाच नियमित रूपमा प्रस्तुत हुन थालेको उनले बताए।
 

कमेन्ट लोड गर्नुस