माघ ४ गते काठमाडौंमा एमालेको शक्ति प्रदर्शन
काठमाडौं: नेकपा एमालेले माघ ४ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ। पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमार्फत एमालेले विशेष प्रदर्शनसहित फागुन २१ गते हुने निर्वाचनमा औपचारिक रूपमा होमिने तयारी गरेको जानकारी दिइएको छ।
बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलका अनुसार जनप्रदर्शनपछि प्रज्ञा भवनमा आयोजना हुने सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। सभामा अध्यक्ष ओलीले निर्वाचनका लागि आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ। उनले बागमती प्रदेशका १८ सिटमा अधिकतम जित हासिल गर्ने गरी रणनीति तयार गरिएको बताए।
पार्टी सचिव महेश बस्नेतले पनि माघ ४ गतेदेखि एमाले औपचारिक रूपमा चुनावी अभियानमा प्रवेश गर्ने बताए। उनले निर्वाचनको तयारी भइरहँदा पनि सरकारले आवश्यक वातावरण बनाउन नसकेको दाबी गरे। आगामी निर्वाचनमा एमाले बहुमत नआए पनि सबैभन्दा ठूलो दल बन्ने दाबी उनले गरे।