आयोगको निर्णय लोकतन्त्रमाथि षड्यन्त्र भएको देउवा पक्षको निष्कर्ष, सर्वोच्च जाने तयारी
काठमाडौँः नेपाली काँग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई दिएको आधिकारिकता मुलुकको लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने षड्यन्त्र भएको निष्कर्ष निकालेको छ।
देउवा पक्षको बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य, वैधानिकता र उपस्थित संख्या समेत नहेरी आयोगले एकलौटी निर्णय गरेको आरोप लगाइएको छ। उक्त निर्णय दूषित मनसायबाट प्रेरित भएको बैठकको ठहर छ।
विज्ञप्तिमा निर्वाचन आयोगको निर्णयप्रति कडा आपत्ति जनाउँदै त्यसविरुद्ध संवैधानिक र कानुनी उपचार खोज्ने तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ।
यसैगरी आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने लगायतका कानुनी प्रक्रिया अघि बढाउन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आवश्यक अख्तियारी प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।