बामदेव गौतम राष्ट्रिय सभाबाट राजीनामा दिँदै, बर्दिया–१ बाट चुनाव लड्ने
काठमाडौँः नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता बामदेव गौतमले आइतबार राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन्। शनिबार बिहान गृह जिल्ला बर्दियाको क्षेत्र नम्बर १ मा मतदातासँगको भेटघाटका क्रममा उनले यो जानकारी दिएका हुन्।
गौतमले आगामी प्रतिनिधि सभा निर्वाचनमा बर्दिया–१ बाट उम्मेदवार बन्ने तयारी गरेकाले राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिन लागिएको स्पष्ट पारे। त्यसका लागि आफू शनिबार नै काठमाडौं फर्किन लागेको उनले बताए।
एमालेका तत्कालीन उपाध्यक्षसमेत रहेका गौतम २०४८ सालदेखि निरन्तर रूपमा बर्दिया–१ बाट चुनाव लड्दै आएका नेता हुन्। २०७० सालको निर्वाचनमा उनले प्यूठान–१ र बर्दिया–१ दुवै क्षेत्रबाट जित हासिल गरेका थिए। तर २०७२ सालको संविधानले दुई क्षेत्रबाट चुनाव लड्ने व्यवस्था हटाएपछि २०७४ सालमा उनी बर्दिया–१ बाट मात्र उम्मेदवार बने।
२०७४ को निर्वाचनमा गौतम काँग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका थिए। त्यसपछि सो क्षेत्रमा चुनाव नलडेका गौतम अहिले पुनः बर्दिया–१ बाट चुनावी मैदानमा उत्रिने तयारीसहित मतदाता भेटघाटमा सक्रिय हुँदै आएका छन्।